images
images

तीन बैंकको लाभांश क्षमता ३०% माथि, गतवर्षको कञ्जुस्याइँले 'हेर्नलायक रिपोर्ट'


  • 20.8K
    SHARES
  • २०७९ श्रावण १४ गते शनिबार

    तीन बैंकको लाभांश क्षमता ३०% माथि, गतवर्षको कञ्जुस्याइँले 'हेर्नलायक रिपोर्ट'

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले अन्तरिम वित्तीय विवरण धमाधम सार्वजनिक गर्दैछन् । अस्थित्वमा रहेका २६ बैंकमध्ये हालसम्म १२ वटा बैंकले यो विवरण सार्वजनिक गरिसकेका छन् । विवरण सार्वजनिक गर्ने यी बैंकहरुमा एनआईसी एशिया बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्डर्ड चाटर्ड बैंक, एनसीसी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र लक्ष्मी बैंक रहेका छन् । 

    बैंकहरुको अन्तरिम वित्तीय प्रतिवेदनले बैंकहरुको लाभांश दिनसक्ने क्षमता १० प्रतिशतदेखि ४१ प्रतिशतसम्म रहने देखाएको छ । यो आवश्यक सबै नियामकीय व्यवस्थापछि बाँकी रहेको रकम हो । जसमा अघिल्लो वर्ष नबाँडिएको नाफा समेत जोडिएको छ । औसतमा ती वाणिज्य बैंकहरुको लाभांश क्षमता १८.०९ प्रतिशत रहेको देखिएको छ । 

    वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये सबैभन्दा बढी लाभांश क्षमता भएको बैंकमा एभरेष्ट बैंक रहेको छ । सो बैंकको लाभांश क्षमता ४१.१५ रहेको देखिन्छ । गत आर्थिक वर्षमा झण्डै २ अर्ब ४४ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको एभरेष्टले अघिल्लो वर्ष नबाँडिएको १ अर्ब ४४ करोड रुपैयाँ समेत गरी २ अर्ब ८९ करोड रुपैयाँ वितरणयोग्य नाफा पुर्याएको छ ।   एभरेष्ट बैंकसँग अहिले ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । 

    त्यस्तै, एनआईसी एशिया बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार लाभांश क्षमता ३३.२६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा लाभांश वितरण गर्न नपाएको सो बैंकले यो वर्ष २ अर्ब २४ करोड वितरणयोग्य नाफा कमाएकोमा अघिल्लो वर्षको सहित लाभांश क्षमता ३ अर्ब ८४ करोड पुर्याएको हो ।  अहिले बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । 

    त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकले पनि उत्साहजनक रिपोर्ट प्रकाशन गर्दै लाभांश क्षमता पनि ३०.८७ प्रतिशत पुर्याएको छ । नगद लाभांशमा गरिएको कडाइका कारण अघिल्लो वर्ष कममात्रै लाभांश दिएको सो बैंकले सो बैंकसँग २ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्न नाफा रहेको छ । त्यसमध्ये १ अर्ब ५९ करोड रुपैयाँ समीक्षा वर्षको हो । वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा कम चुक्ता पुँजी रहेको यो बैंकसँग अहिले ९ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी छ । 

    तीन बैंकको लाभांश क्षमता उच्च देखिँदा बाँकी बैंकहरुको अवस्था भने तुलनात्मक रुपमा कमजोर देखिन्छ । सनराइज बैंकको क्षमता १४.४६ प्रतिशत रहेको छ । यो वर्ष २५ करोड हाराहारीमा मात्रै वितरणयोग्य नाफा भएको सो बैंकसँग अघिल्लो वर्षको समेत गरी कुल १ अर्ब ४६ करोड रुपैयाँ सञ्चित नाफा रहेको छ । सनराइज बैंकको चुक्ता पुँजी अहिले १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । 

    ग्लोबल आइएई बैंकको लाभांश क्षमता १३.४५ प्रतिशत रहेको छ । बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै २३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग ३ अर्ब १९ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । यसमध्ये करिब ७ करोड मात्रै अघिल्लो वर्षको बाँकी रकम हो । 

    Distributable profit.jpg

    यो वर्ष एनसीसी बैंकको क्षमता १३.२३ प्रतिशत छ । ११ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजीभएको बैंकसँग १ अर्ब ४७ करोड रुपैयाँको वितरणयोग्य नाफा हुँदा लाभांश क्षमता सो बराबर कायम भएको हो । यसमध्ये २ करोड ६७ लाख रुपैयाँ मात्रै अघिल्लो वर्षबाट सारिएको हो । 

    उता सानिमा बैंकको लाभांश क्षमता १२.९८ प्रतिशत रहेको छ । ११ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले यो वर्ष झण्डै १ अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाउँदा लाभांश क्षमता सो बराबर कायम हुन पुगेको हो । 

    उता माछापुच्छ्रे बैंकले गत वर्षको विवरण अनुसार अहिले सो बैंकको लाभांश क्षमता १२.९५ प्रतिशत देखिएको छ । १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी भएको उक्त बैंकले १ अर्ब ३२ करोड नाफा कायम गर्न सफल भएको हो । यसमध्ये झण्डै ११ करोड रुपैयाँ अघिल्लो वर्षबाट आएको हो । 

    १८ अर्ब ३० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेन्ट बैंकको क्षमता ११.१३ प्रतिशत रहेको छ । सो बैंकको २ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । प्रभु बैंकसँग १ अर्ब ५७ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । १२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी भएको सो बैंकको यो नाफा १२.४३ प्रतिशत हो । 

    अहिलेसम्म विवरण प्रकाशित भएका बैंकमध्ये सबैभन्दा कम लक्ष्मी बैंकको देखिएको छ । ११ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग वितरणका लागि १ अर्ब २५ करोड रुपैयाँ मात्रै वितरणयोग्य रकम छ । यो १०.८७ हो । 

    गतवर्षको कञ्जुस्याइँले हेर्नलायक रिपोर्ट 

    लाभांश क्षमता उच्च देखिएका यी तीन बैंकको अवस्था सबल देखिनुमा मुख्यतया २ वटा कारण प्रमुख देखिएको छ । बोनस शेयर भन्दा नगद लाभांशलाई प्रोत्साहन गर्ने र अघिल्लो वर्ष क्षमताभन्दा निकै कम मात्रै लाभांश दिएका बैंकहरु अहिले बलियो देखिएका हुन् । एभरेष्ट बैं‌कले अघिल्लो वर्षबाट मात्रै १ अर्ब ४४ करोड रुपैयाँ वितरणयोग्य नाफामा थप गरेकाे छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि अघिल्लो वर्षको नाफाबाट १ अर्ब ४० करोड रुपैयाँ नाफामा सारेको छ । यी दुवै बैंकले पर्याप्त नगद लाभांश दिन नपाउँदा अघिल्लो वर्ष लाभांश घटाएका थिए । 

    त्यसो त यी दुवै बैंक पुँजी वृद्धिलाई कम प्राथमिकतामा राख्ने बैंकहरु हुन् । संयुक्त लगानीमा सञ्चालित बैंकका विदेशी प्रोमोटरले नगद लाभांशलाई प्राथमिकता दिने भएकोले ती संस्थाहरुको नीति भिन्न देखिएको हो । 

    उता एनआईशी एशिया बैंकले अघिल्लो वर्ष नाफा बाँड्नै पाएन । पुँजीकोष अनुपातसम्बन्धी न्युनतम सीमा कायम गर्न नसक्दा केन्द्रीय बैंकले बैंकको लाभांश रोक्का गरेको थियो । अघिल्लो वर्ष लाभांश दिन नपाएकै कारण यो वर्ष बैंकले १ अर्ब ६० करोड रुपैयाँ थप वितरणयोग्य नाफा सञ्चित गरेको हो । अघिल्लो वर्ष दिइने बोनस शेयरमा समेत चक्रीय लाभांश दिन नपरेका कारण यसले लाभांश क्षमताको प्रतिशत झनै माथि पुर्याएको देखिन्छ । 




    images

    Logo