images
images

निषेधाज्ञा खुकुलो बनेपछि बैंकहरुको ब्याजदर बढ्न थाल्यो, कुन बैंकको अवस्था कस्तो ?


  • 1.8K
    SHARES
  • २०७८ जेठ ३१ गते सोमबार

    निषेधाज्ञा खुकुलो बनेपछि बैंकहरुको ब्याजदर बढ्न थाल्यो, कुन बैंकको अवस्था कस्तो ?

    काठमाडौं । सरकारले देशभर निषेधाज्ञा खुकुलो बनाउँदै लगेपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाएका छन् । कोरोना संक्रमण भयावह रहेको अवस्थामा एकैपटक ब्याजदर घटाएका बैंकहरुले घटेको ब्याजलाई पुनः बढाउन थालेका हुन् । 

    नेपाल राष्ट्र बैंकले आगामी महिना लागुु हुने ब्याजदर तालिका अघिल्लो महिनाको अन्तिमसम्म सार्वजनिक गनुपर्ने व्यवस्था गरेबमोजिम सोमबार दर्जन भन्दा बढी बैंकले असार मसान्तका लागि लागुु हुने ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको केही बैंकको ब्याजदर स्थिर रहेको छ भने केही बैंकको ब्याजदर परिवर्तन भएको छ । तर, ब्याजदर परिवर्तन गर्ने बैंकहरुमध्ये अधिकांशको ब्याजदर बढेको छ ।  

    यसपटक नबिल बैंक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक लगायतले बढेको ब्याजदरसहितको नयाँ तालिका सार्वजनिक गरेका छन् । नेपाल बैंक, एनसीसी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबीआई बैंक लगायतको ब्याजदर भने स्थिर रहेको छ । 

    ब्याजदर बढाएका बैंक

    नबिल बैंकले बचत खाताको ब्याजदरलाई १ प्रतिशत बिन्दुले बढाएर २.५१ प्रतिशतदेखि ४.५१ प्रतिशत पुर्याएको छ । मुद्दति खातको ब्याजदरलाई ०.५० प्रतिशत बिन्दुले बढाएर ७.०१ प्रतिशत पुर्याइएको छ । माछापुच्छ्रे बैंकले बचत खाताको ब्याजदर एकैपटक १.१० प्रतिशत विन्दुुले बढाएर ३.१० प्रतिशत विन्दु पुर्याएको छ । एकवर्षे मुद्दतिको ब्याजदरलाई ०.५१ प्रतिशत विन्दुले बढाएर ७.५१ प्रतिशत पुर्याइएको छ । 

    स्ट्यान्डर्ड चार्टर्डले निक्षेपको ब्याजदर बढाएको छ । साधारण बचत खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएर २.७५ पुर्याएको छ । व्यक्तिगत र संस्थागत मुद्दति निक्षेप दुवैलाई ७ प्रतिशत पुर्याएको छ । अघिल्ले महिना व्यक्तिगत मुद्दतिको ब्याजदर ६ प्रतिशत थियो भने संस्थागत मुद्दतिको ब्याजदर ४.५ प्रतिशत मात्रै थियो । बोलकबोलमा निक्षेप उठाउने दर ७.५ प्रतिशत पुर्याइएको छ ।

    हिमालयन बैंकले साधारण बचत खाताको ब्याजदरलाई ०.७५ प्रतिशत विन्दुले बढाएर २.७५ पुर्याएको छ । विशेष बचत खाताहरुको ब्याजदर ०.५० प्रतिशत बढाइएको छ ।  व्यक्तिगत र संस्थागत मुद्दति निक्षेप दुवैलाई ०.७५ प्रतिशत घटाएर ७ प्रतिशतमा झारिएको छ । 

    एभरेष्ट बैंकले साधारण मुद्दति खाताको ब्याजदरलाई ०.५० ले बढाएर २.५० पुर्याएको छ । त्यस्तै, एक वर्षे मुद्दति खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ७ प्रतिशत पुर्याइएको छ । 

    ब्याजदर स्थिर भएका बैंक

    जेठको तुलनामा असारमा ब्याजदर स्थिर राख्ने बैंकहरुमा नेपाल बैंक, एनसीसी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबीआई बैंक लगायत छन् । 

    एनसीसी बैंकले कुनै फेरबदल गरेको छैन । उसले बचत खातामा ३ देखि ५ प्रतिशत र एक वर्षे मुद्दतिमा ७.५ प्रतिशत ब्याजलाई निरन्तरता दिएको हो । प्रभु बैंकले पनि आफ्नो ब्याजदर यथावत राखेको छ । उसले बचत खातामा ३ देखि ५ प्रतिशत र एक वर्षे मुद्दतिमा ७ प्रतिशत ब्याज दिइनेछ । 

    राट्रिय वाणिज्य बैंकको ब्याजदर पनि यथावत छ । सो बैंकले बचतमा ३ देखि ५ प्रतिशत र एक वर्षे मुद्दति निक्षेपमा व्यक्तिगत ५.५ र संस्थागत ५ प्रतिशत ब्याज दिनेछ । सनराइज बैंकको पनि यथावत छ । बचतमा २ देखि ३.५ प्रतिशत र मुद्दतिमा ७ प्रतिशत ब्याजदर तोकिएको छ । 

    नेपाल बंगलादेश बैंकले बचत खाताको ब्याजदरलाई २.७५ प्रतिशतदेखि ४ प्रतिशत विन्दुमा यथावत राखेको छ । एकवर्षे मुद्दतिको ब्याजदर पनि ७.७५ प्रतिशतमा स्थिर राखिएको छ । नेपाल एसबीआई बैंकले बचत खाताको ब्याजदरलाई २.५५ प्रतिशत र एकवर्षे मुद्दति खाताको ब्याजदरलाई ७ प्रतिशतमा यथावत राखेको छ । 

    नेपाल बैंकले बचत खाताको ब्याजदरलाई २.५ देखि ४ प्रतिशत र मुद्दति खाताको ब्यादरलाई ७ प्रतिशतमा यथावत राखेको छ । 

    काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले मंगलबारदेखि लागुु हुनेगरी निषेधाज्ञा खुकुलो पारेका छन् । गृह मन्त्रालयको निर्देशन बमोजिम देशैभरी निषेधाज्ञा खुुकुलो बनाउदै जाने लहर चल्न थालेको छ । यस्तो अवस्थामा आर्थिक गतिविधि चलायमान हुने देखेर बैंकहरुले ब्याजदर बढाएका हुन् ।


    images

    Logo