images
images

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो


  • 491
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

    काठमाडौं । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो । 

    विमानस्थलको लम्बाइ करिब १ हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ १ हजार ५ सय २५ मिटर पुग्छ । तर अहिले धावनमार्गको लम्बाइ १ हजार मिटर मात्रै छ । तर जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए । 

    “सेनाले भोगचलन गरिरहेको जग्गामा काम गर्न खोज्दा कामदार नियन्त्रणमा लिएपछि निमार्णकार्य प्रभावित भएको हो”, उनले भने । उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको जानकारी दिए । 

    जग्गा प्राप्तिकालागि ३ वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्नेमा  ढिलाइ भइरहेको उनको भनाइ छ । “पछिल्लो समय दसैँ, तिहार जस्ता पर्व र निर्वाचनका कारणले काम हुन सकेन, अहिले पनि जग्गाको स्वामित्वको काम प्रक्रियामै छ”, उनले भने । उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए ।

    यसअघि सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति भएको थियो । उहाँका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ । 
     
    कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश लेखकले विमानस्थल निमार्णको काम अघि बढाउन पहल भइरहेको बताए । “जग्गा प्राप्तिका विषयमा केही अलमल भएको हो त्यो विषय छिट्टै टुङ्ग्याएर काम अघि बढ्छ”, उनले भने “त्यसका लागि म आफै पनि मन्त्रालयमा पुगेको छु प्रक्रियागत कुराले ढिलाइ भएको हो ।”
     
    विमानस्थल पुनर्निर्माण संघर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । “यहाँ विमानस्थलको आवश्यकता छ यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ”, उनले भने, “हामीले पटक–पटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाब दिइरहेका छौ ।” उनले निर्वाचनको बेला उम्मेदवारहरुले विमानस्थल सञ्चालनको आश्वासन दिएको बताए । 
     
    भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्ययन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम–केएस–उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ । 
     
    पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ ।२०३४ सालदेखि ०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संकटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।


    images

    Logo