images
images

मध्यपहाडीमा ४४ पुल निर्माण गर्न र १९ को ठेक्का बाँकी


  • 473
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    मध्यपहाडीमा ४४ पुल निर्माण गर्न र १९ को ठेक्का बाँकी

    काठमाडौं । पछिल्लो पटक थपिएको अवधि ६ महिना बाँकी हुँदा पुष्पलाल (मध्यपहाडी) राजमार्गमा अझै ४४ पुल निर्माण गर्न बाँकी छ । राष्ट्रिय गौरवको सो आयोजनामा निर्माणस्थल उपलब्ध नहुँदा सडकसँगै पुल निर्माणसमेत ढिलाइ भएको हो । 

    मध्यपहाडका २६ जिल्ला जोड्ने आयोजनामा जम्मा पुल १ सय ३७ रहेकामा हालसम्म ९३ पुल सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । बाँकी अवधिमा १९ पुलको ठेक्का आह्वान गर्नुपर्नेमा चालू आवमा नै ठेक्का आह्वान गरेर  निर्माणमा जाने आयोजनाका सूचना अधिकारी सुरज अधिकारीले बताए । 
     
    निर्माणाधीन पुल २५ मध्ये पनि कतिपय पुल सम्पन्न हुने अवस्थामा पुग्न लागेको उहाँको भनाइ थियो । सूचना अधिकारी सुरजले भने, “यो आवमा १८ पुल निर्माण गरिसक्ने लक्ष्य छ ।” ठूला पुल बन्न लामो समय लाग्ने भए पनि अहिले सो राजमार्गमा निर्माणमा जानुपर्ने ठूला सडक नभएको र  अहिले बनाउन बाँकीमा पनि लामो लामो पुल नभएकाले राम्रो काम गर्नसक्ने निर्माण कम्पनी आएमा एकै याममा सम्पन्न गर्न सकिने उनले जानकारी दिए । 

    सूचना अधिकारी सुरजले भने, “साना २०/२५ मिटर लामा पुल भएकाले एकै याममा सकिन्छ ।” निर्माण व्यवसायीले काम सरासर नगर्दा मात्रै लामो समय लाग्ने हुन्छ  । थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुवैका लागि पर्याप्त नभएको र अझै पनि कतिपय सडक खण्डमा रेखाङ्कन टुङ्गो लगाउन बाँकी सूचना अधिकारी सुरजले उल्लेख गर्नुभयो ।  

    भेरी पुलमा ठेक्का तोडिएकाले नयाँमा जाँदा समय लाग्ने भएको छ र यहाँ पुलको लम्बाइ १ सयभन्दा बढी लामो भएकाले समय लाग्ने तर अरुतिर पुलको लम्बाइ कम रहेको उहाँको भनाइ थियो ।  

    मध्यपहाडको समृद्धिका आधारका रुपमा रहेको यस राजमार्गको निर्माण सुरु भएको डेढ दशकमा ६४ प्रतिशत सकिएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाँघिसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन) गर्नेमै अन्योल रहेको छ । 

    पहिले बूढीगण्डकी नदीको नजिकै सडकको रेखाङ्कन गरिएको थियो । ऊर्जा तथा जलस्रोत मन्त्रालयले सो स्थानमा जलाशययुक्त आयोजना निर्माण गर्ने योजना बनाएका कारण अझै अन्योल भएकोसूचना अधिकारी सुरजले बताउनुभयो । केही समय पहिलेसम्म कास्कीमा पनि रेखाङ्कन गर्न  अन्योल भए पनि अहिले त्यो समाधान भइसकेको उहाँले जानकारी दिए ।  

    चालू आर्थिक बर्षमा मात्रै ३५७ किलोमिटर सडक कालोपत्र, १८ पुल निर्माण र १ सय ३४ दशमलव ५ किलोमिटर सडक निर्माणका लागि ठेक्का गर्नुपर्ने आयोजनाले जनाएको छ । पछिल्लो पटक थप भएको अवधि चालू आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ  तर धेरै खण्डमा ठेक्का लगाउन बाँकी नभएको आयोजनाले जनाएको छ । 

    पूर्वको पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको यो मार्ग निर्माण भए मध्यपहाडका नागरिकको जीवन सहज हुने, नयाँ सहर निर्माण हुने र पूर्वपश्चिम राजमार्गको चाप कम हुने अनुमान गरिएको छ । सरकारले आर्थिक बर्ष २०६९/७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।


    images

    Logo