काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा सधैभरि संकटमा लगाउन नहुने बताएको छ । कुनै परिस्थितिमा लगाइएको संकटकाल (कोटो निर्धारण प्रणाली) सधै भरि सान्दर्भिक नहुने भन्दै महासंघले सुन आयातमा लगाउँदै आएको कोटा प्रणाली हटाउन माग गरेको हो ।
राष्ट्र बैंक यति बेला आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति बनाउने तयारीमा जुटेको छ । यस अवसरमा बैंकले विभिन्न सरोकारवाला निकाय तथा सर्वसाधारणसँग समेत आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाव माग गरेको छ । राष्ट्र बैंकले दिएको यहि अवसरलाई महासंघले सुन आपूर्तिमा देखिएको समस्याका विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण गराउने लागेको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।
‘हामी मौद्रिक नीतिका निर्माणमा जुटेको राष्ट्र बैंकलाई सुनमा लगाइएको संकटकाल हटाउन सुझाव दिने छौं,’ उनले भने ‘व्यवसायीले आफ्नो आवश्यकताअनुसार सुन आयात गर्न पाउनु पर्छ । स्थायी लेखा नम्बर लिएका व्यवसायीलाई उनीहरू आवद्ध संघ तथा महासंघको सिफारिसको आधारमा सुन आयात गर्न दिँदा बढी प्रभावकारी हुन्छ ।’
अहिले सुन आपूर्ति सहज नहुँदा ५० ग्राम सुन लिनको लागि पनि व्यवसायीहरूले साता /१० दिन कुर्नुपर्ने अवस्था छ । यो विधिबाट सुन आयात गर्दा माग बढी भएका बेला बजारमा सुनको हाहाकार हुने गरेको छ । ‘सुन आयातको तजबिजी व्यवसायी आफैलाई दिए उनीहरूले बजार माग र आफ्नो आवश्यकता अनुसार सुन आयात गर्न पाउँछन् ।
सरकारले सुन आयात बढी हुँदा ब्यापार घाटा बढेको भन्दै २०६१ सालमा सुन आयातका लागि कोटा निर्धारण गरेको हो । १८ वर्ष अघि गरिएको कोटा प्रणालीलाई अहिलेसम्म सरकारले निरन्तरता दिँदै आएको छ । यो अवधिसम्म आम उपभोक्ताको क्रयशक्ति बढेर सुन किन्ने क्षमतामा वृद्धि भएपनि सरकारले भने बजारलाई अंकुश लगाउँदै आएको छ । अब यो प्रणाली हटाएर ओजियलमार्फत सुन आयात गर्न पाउने व्यवस्था गर्नुपर्ने महासंघको ठहर छ ।
सिजनमा सधै सुन अभाव
सरकारले कोभिड महामारीको दोस्रो लहरका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्यो । त्यति बेला बजारमा सुनको चर्को अभाव थियो । व्यवसायीले नै आफ्ना नियमति ग्राहकलाई बजार मूल्यभन्दा ४ हजार रुपैयाँसम्म बढी मूल्य तिरेर सुन उपलब्ध गराएका थिए । त्यसपछि बजार बन्द भयो ।
तर, यहि अवधिमा पनि महासंघले भने आम नागरिकलाई जानकारी गराउन सधै सुनको मूल्य प्रकाशन गर्दै आएको छ । निषेधाज्ञा कै बेला ९५÷९६ हजार तोलासम्म पुगेको प्रतितोला सुन अहिले भने ९० हजारको हाराहारीमा आएको छ ।
५४ दिनपछि आज खुल्दै सुन बजार
सुनको चरम अभाव भएको बेला बन्द भएको सुन बजारमा अब के आम उपभोक्ताले सहजै सुनका गरगहना तथा सुन पाउँछन् त ? यो प्रश्न यति बेला खडा भएको छ । महासंघका अध्यक्ष शाक्य भने व्यवसायीसँग स्टकमा रहेको सुनबाट बजार खोल्ने बताए ।
मध्ये सिजनमा बन्द भएकाले अब विस्तारै सुनको माग घट्दै जान्छ । सोही कारण अहिले सुन त्यति अभाव नहुने उनले बताए । ‘अब तिज नलागी सुनको माग बजारमा त्यति बढ्दैन,’ उनले भने ‘रिसेलका लागि बजारमा आउने पुरानो सुन पनि छँदैछ ।’
बैंकहरूलाई सुन आयात गर्न पत्राचार
सरकारले असार दोस्रो साताबाट निषेधाज्ञा केही खुकुलो पार्ने छनक देखाएपछि सुनचाँदी व्यवसायी महासंघले सुन आयात गर्नको लागि बैंकहरूलाई पत्राचार गरिसकेको छ । महासंघले ६ दिन अघि निषेधाज्ञाका बेला रोकिएको सुन आयातलाई निरन्तरता दिन बैंकहरूलाई पत्राचार गरेको हो ।
निषेधाज्ञाका बेला रोकिएको करिब हजार किलोभन्दा बढी सुन आयात हुन बाँकी छ । सो सुन आयात गर्नको लागि बैंकहरूलाई पत्रचार गरिएको अध्यक्ष शाक्यले बताए । नेपालमा खासगरी दुबईबाट सुन आयात हुने गरेको छ । अब अन्तर्राष्ट्रिय उडान खुलेपछि अर्थात चाटर्ड उडानमा गएका हवाइजहाजले पनि सुन बोकर फर्कन सक्ने देखिएको छ ।
घट्दो सुन बजारमा लगानी गर्दा के हुन्छ ?
अहिले बजारमा सुनको मूल्य केही घटेको देखिएपनि सुनमा लगानी गर्दा घाटा नहुने व्यवसायीहरूको आँकलन छ । अन्तराष्ट्रिय बजार सिनारियो हेर्ने हो भने सुनको मूल्य बढ्ने नै देखिएको छ । पहिला पनि १ लाखभन्दा माथि उक्लेको प्रतितोला सुन बजार अहिले ओर्लिए ९० हजारको हाराहारीमा आएको छ ।
सुन बजार उकालो लागन विशेषत विदेशी करेन्सीहरूको पनि ठूलो हात हुन्छ । सुनको मूल्य अमेरिकी डलर, चिनियाँ करेन्सी तथा अन्तर्राष्ट्रिय शेयर बजार एवम् पेट्रोलियम पदार्थ समेतले निर्धारण गर्दछ ।
जवजव यी कमोडिटीहरूमा उचार चढाव आउँछ तवतव सुनमा लगानी गर्ने बढ्न थाल्छन् । त्यसैले सुनको बजार मूल्यका विषयमा केही भन्न नसकिएपनि सुनको मूल्य बढ्ने भने पक्का भएको अध्यक्ष शाक्यले बताए ।