images
images

तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङको ब्रेक थ्रु


  • 344
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    तनहुँ जलविद्युत् आयोजना : प्रवेश सुरुङको ब्रेक थ्रु

    काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र ७ मिटर व्यास भएको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । 

    ‘ब्रेक थ्रु’ भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान सहज भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए । 

    आयोजनाको पहिलो प्याकेजअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो भने अन्तिम विस्फोट मङ्गलबार गरिएको प्रमुख शिल्पकारले बताए ।

    पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । हालसम्म मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् । 

    आयोजनाका अनुसार ५ सय ३९ दशमलव ८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको काम सिनो हाइड्रो, चीनले गरिरहेको छ ।

    त्यस्तै, तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी, भारतले गरिरहेको छ । निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

    आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।


    images

    Logo