images
images

अघि बढ्यो २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना


  • 314
    SHARES
  • २०७९ माघ २१ गते शनिबार

    अघि बढ्यो २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजना

    काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । 

    कूल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । यसको डिजाइन बहाव १३ दशमलब ४ घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनाको कूल हेड दुई सय सात मिटर रहेको छ । आयोजनाबाट वार्षिक सरदर एक सय पाँच गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।
     
    यस्तै, डाईभर्सन स्किमबाट वार्षिक २ सय १६ मेगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ । रोल्वालिङ खोलामा बाँधबाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ ।

    आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाईको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ । विद्युत् गृहमा दुई वटा टवाईन रहनेछ । ती टबाईनबाट १०.४९ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि निस्केको पानीलाई सात सय ४० मिटर लामो सुरुङमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा पानी खसालिनेछ ।

    विद्युत् गृहबाट उतपादित बिजुली ८.४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रस्तावित ३३/२२० केभी सवस्टेशनमा जोडिनेछ ।
     
    आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत् उत्पादन हुनेछ । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमासमेत गुणात्मक वृद्धि हुनेछ । अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादनका लागिसमेत रोल्वालिङ खोला जलविद्युत् आयोजना सहयोगी हुनेछ ।

    आयोजनाको डिजाइनलगायतको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो । सो आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको आयोजनाको रुपमा चित्रण गर्दै आएका छन् । 

     


    images

    Logo