काठमाडौं । जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र ३ वर्षमा करिब १४ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्र गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो ।
२३ करोड दुई लाख ८० हजारमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले ३ करोड ४ लाख २० हजार पेश्की लिएर निर्माण सुरु गरे पनि सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः २०७९ असार ३० सम्म म्याद थप गराएको थियो ।
थप म्यादभित्र पनि कामको सुरुवात नै नगरी फेरि एक वर्ष म्याद थप गरेर पनि निर्माण कार्यमा आलटाल गर्दै आएको स्थानीय उपभोक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो । समयमा काम सम्पन्न नगर्दा पानी पर्दा हिलो र पानी नपर्दा धुलोको सामना गर्न स्थानीयवासी बाध्य भएको उनले बताए ।
पछिल्लोपटक थप भएको म्यादभित्र पनि निर्माण कम्पनीको प्रतिनिधिले औपचारिकता निर्वाह गर्न केही कामदार र केही सामान ल्याएर झार टार्ने काम मात्रै गरेको स्थानीयवासीले बताए । उक्त निर्माण कम्पनीले जताततै ठेक्का लिएर निर्माण कार्यलाई अलपत्र पार्ने काम गरेको पूर्वाधार कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए ।
कार्यालयबाट पटक–पटक पत्राचार गर्नाका साथै फिल्डमा गएर काम गर्ने विषयमा माइन्युट गरेपनि अटेर गर्दै आएको उनको गुनसो थियो । कार्यालयका तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी राखेका छैनौँ । प्रमुख घिमिरेले भने “चाँडो निर्माण सम्पन्न गर्न ताकेता गर्ने कार्यलाई निरन्तरता पनि दिँदै आएका छौँ ।”
थपिएको म्यादमा सात महिना वितिसकेको छ । म्याद सकिन लगभग पाँच महिना मात्रै बाँकी रहेको उनले बताए । उक्त सडक निर्माण भए भानुनगरपालिकाको १२ र १३ वडा तथा व्यास नगरपालिकाको ८ र ९ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
निर्माण कम्पनीका प्रतिनिधिले हरेक बैठकमा दुई दिनभित्र आवश्यक कामदार र सामग्री ल्याएर निर्माण कार्यलाई तीब्रता दिने भनि माइन्युट गरेपनि पटक–पटक झुटो आश्वासन दिएर उपभोक्तलाई झुकाउने कार्य गरेको उपभोक्ता गुरुङले बताए ।


