images
images

६० वटा इलेक्ट्रिक बस ल्याइँदै, नेपालमै एसेम्बल प्लान्टको समेत तयारी 


  • 1.9K
    SHARES
  • २०७८ आषाढ १८ गते शुक्रबार

    ६० वटा इलेक्ट्रिक बस ल्याइँदै, नेपालमै एसेम्बल प्लान्टको समेत तयारी 

    काठमाडौं । नेपालमा थप ६० वटा विद्युतीय बस ल्याउने तयारी थालिएको छ । साझा यातायात र सुन्दर यातायात प्रा. लि. ले उक्त परिमाणमा विद्युतीय बसहरु भित्याउन लागेका हुन् । साझाले ४० वटा र सुुन्दरले २० वटा बस ल्याउने तयारी थालेका हुन् । 

    साझाले ल्याउन लागेको विद्युतीय बसका लागि आज टेन्डर खोल्दैछ । ५ महिनाभित्र बस ल्याइसक्ने साझाको तयारी छ । साझाले चैत १३ गते ४० वटा  विद्युतीय बस खरिदका लागि ४५ दिने ग्लोबल टेन्डर आह्वान गरेको थियो । तर, कोरोनाका कारण ढिलाइ हुन जाँदा पुनः टेन्डर आह्वान गर्न लागिएको हो । 

    साझाले टेन्डरसम्बन्धी सम्झौतामा बस खरिद मात्र नभएर पाँच वर्षसम्मको मर्मत समेत गर्नुपर्ने उल्लेख गरेको छ । साझालाई बस ल्याउन भौतिक पूर्वाधार तथा  यातायात  मन्त्रालयले तीन  अर्ब  रुपैयाँ उपलब्ध गराएको छ । सो रकमबाट नौ  मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिनेछ । अघिल्लो असोजमा साझालाई दिएको सो रकम सरकारले रोकेको थियो । ६ महिनापछि फागुुनमा सरकारले साझालाई पुनः खरिद प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो । पहिल्यै  नरोकिएको  भए हाल बस आइसक्ने साझाको दाबी छ ।

    उता विद्युुतीय  बस  सञ्चालन  गरिरहेको  सुन्दर यातायात प्रा.लि.का २० वटा  बस सिङ्गापुरमा रोकिएका छन् । चीनबाट ल्याइएका बस कोरोनाको बन्दाबन्दीका  कारण हाल सिङ्गापुरमा राखिएको कम्पनीका अध्यक्ष भेषबहादुर  थापाले जानकारी  दिए । ४० सिट क्षमताका ती बस भारतमा बन्दाबन्दी खुल्नासाथ नेपाल ल्याइनेछ । सुन्दर  यातायातले  ५० करोड रुपैयाँ लगानी गरेर उक्त बस खरिद गरेको हो । 

    एसेम्बल प्लान्ट निर्माण हुँदै

    सुन्दर यातायातकै अर्को कम्पनी सुन्दर अटो इन्जिनियरिङ प्रा. लि.ले रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारीको एसेम्बल निर्माण गर्ने भएको छ ।  विद्युतीय  बस, मोटरसाइकल, जिप र कारहरू निर्माण गरिने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । करिब तीन अर्ब ६० करोड रुपियाँको लगानीमा निर्माण गरिने एसेम्बल प्लान्टले पहिलो वर्ष तीन सय सवारी साधन एसेम्बल गर्ने लक्ष्य लिएको छ । दोस्रो वर्ष पाँच सय र त्यसपछि कम्तीमा वार्षिक एक हजार  विद्युतीय सवारी निर्माण गरिने योजना रहेको थापाको भनाइ छ ।


    images

    Logo