images
images

के च्याट जीपीटीले तपाईँ लगायत लाखौं अन्यको रोजगारी खोस्छ ?


  • 497
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    के च्याट जीपीटीले तपाईँ लगायत लाखौं अन्यको रोजगारी खोस्छ ?

    च्याट जीपीटी एउटा यस्तो कृतिम बौद्धिक(एआई) हो जसको अनुकरण गर्न विभिन्न कम्पनीहरुले कोशिस गरिरहेका छन् । 

    ३० नोभेम्बरमा प्रक्षेपण गरिएको च्याट जीपीटी, चार महिनामा नै जनमानसमा प्रसिद्ध छ । उक्त एपले संयुक्त राज्यमा बार र मेडिकल इजाजतपत्र परीक्षाहरु क्र्याक गर्नेदेखि इमेल र गीतहरू लेख्ने, एपहरू निर्माण गर्ने, र अन्य कार्यहरू समेत गर्ने क्षमता देखाएका कारण प्रसिद्धि पाएको हो । 

    उक्त एप सार्वजनिक प्रयोगका लागि स्वतन्त्र रुपमा उपलब्ध छ । सोही कारण एआईले पारेको प्रभाव सम्भावना भन्दा बढी हुन गयो । जसले गर्दा एआईका लागि अपेक्षा भन्दा धरै अवसरहरुको लागि बाटो खोलिएको छ । यद्यपि उक्त एपका निर्माताहरुले एपलाई प्रशिक्षण दिन प्रयोग गरेको प्रोग्रामिङको अपारदर्शिताका कारण आलोचनाको सामना गर्नु परेको छ।

    माइक्रोसफ्टद्वारा समर्थित र ओपन एआईद्वारा विकसित च्याट जीपीटी, प्रक्षेपण भएको दुई महिनाको अवधिमै संसारमा सबैभन्दा चाँडो फैलिएको एप बन्न सफल भयो । जनावरीमा उक्त एपको १०० मिलियन भन्दा बढी उपभोक्ता थिए । 

    सो प्रारम्भिक सफलतापछि माइक्रोसफ्टले प्रयोगकर्ताहरुको अनुभव सुधार गर्न आफ्नो खोज इन्जिन ‘बिङ’ र ‘एज’ ब्राउजरलाई समेत च्याट जीपीटीकै प्रविधिसँग एकीकृत गर्न खोजेको छ । गत हप्ता गुगलले ‘बार्ड’ नामक समान एआई एप सुरु गर्यो । फेबु्रअरीमा प्लेटर्फमको पूर्वावलोकन सार्वजनिक गरेपछि गुगलले उक्त एप सुरु गरेको हो । 

    अमेरिकी एपको सफलतालाई पछ्याउन मार्चको मध्यतिरै चीनियाँ वेब सेवा कम्पनी ‘बायदु’ले ‘अर्नी’ नामक प्लेटफर्म बनायो । तर च्याट जीपीटीको बढ्दो लोकप्रियताको अगाडी बार्ड र अर्नी दुबै टिक्न सकेनन् । 

    यसैबीच, ओपन एआईले च्याट जीपीटी पछिको प्रविधिको अपग्रेड गरिएको संस्करण जीपीटी ४ लन्च गरेको छ । उक्त नयाँ प्लेटफर्मले तस्बिरहरू, २५ हजार शब्दहरू सम्मको विस्तृत पाठहरूको विश्लेषण गर्न सक्छ ।  त्यस्तै, हातले कोरेको स्केचको भरमा वेबसाइटको सिर्जना समेत उक्त संस्करण सक्षम छ । 

    कम्पनीहरु पूर्णरुपमा च्याट जीपीटीद्वारा निर्मित उत्पादनहरु ग्राहकसेवा देखि वित्तीय विश्लेषणसम्मको क्षेत्रमा प्रक्षेपण गर्न हतार गरिरहेका छन् । 

    यस्तोमा जब अन्तर्राष्ट्रिय श्रम संगठनले पहिले नै अनुमान गरेको छ कि २०२३ मा २०८ मिलियन मान्छे बेरोजगार हुनेछन्, के एआईको यो नयाँ लहरले नाटकीय रूपमा बेरोजगारी बढाउन सक्छ ? कस्ता कार्यहरू यी उपकरणहरूले प्रतिस्थापन गर्ने सम्भावना छ ? कामको भविष्य कस्तो छ ?

    छोटो जवाफः केही क्षेत्रहरूमा नियमित कामहरू प्रतिस्थापन सहित च्याट जीपीटी र यसको प्रतिद्वन्द्वी एआई मोडेलहरूले श्रम बजारलाई नाटकीय रूपमा बाधा पुर्‍याउन सक्छ। तर समग्रमा, प्रविधिले बेरोजगारी निम्त्याउनुको सट्टा उत्पादकता बढाउन र मानव कामदारहरूलाई पूरक बनाउन सक्छ, विज्ञहरूले अल जजीरालाई भने।

    च्याट जीपीटी र अन्य समान प्लेटफर्महरूलाई एआईको अघिल्लो पुस्ताहरू भन्दा मौलिक रूपमा फरक बनाउने कुरा भनेको जीपीटी हो । जसको विस्तारित रुप जनरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर–बिट ( पूर्व प्रशिक्षित उत्पादनमूलक ट्रान्सफर्मर बिट) हो । 

    सरल भाषामा भन्नुपर्दा, यी उपकरणहरूले पाठ उत्पादन र विश्लेषण गर्न, प्रश्नहरूको जवाफ दिन र अन्य भाषा र बोली–सम्बन्धित कार्यहरू गर्नका लागि गहिरो शिक्षा भनेर चिनिने प्रविधिको प्रयोग गर्दछ । उक्त प्रविधिले मानव जातिलाई पहिलेभन्दा राम्रोसँग नक्कल गर्न सक्छ।

    ‘श्रम बजारमा जेनेरेटिभ–एआईको प्रभाव साँच्चै महत्त्वपूर्ण हुनेछ’ लौरा नुरस्की, ब्रसेल्स–आधारित थिंक ट्याङ्क ब्रुगेलमा फ्यूचर अफ वर्क टोलीको नेतृले अल जजीरालाई बताइन्, ‘यो व्यापक रूपमा जानकारी सङ्कलन गर्न, पाठहरूको खेस्रा तयार गर्नको लागि, र विशिष्ट लेखन शैलीमा पाठ उत्पादन गर्नको लागि सुधारिएको खोज इन्जिनको रूपमा प्रयोग भइरहेको छ । यो नोकरी लगायत सबै क्षेत्रमा लागु हुन्छ’ । 

    यद्यपि यी एआई प्लेटफर्म भाषा व्याख्यासँग सम्बन्धित कार्यहरूमा ध्यान केन्द्रित छन् । जसका कारण उक्त एप प्रयोगले ती पेशाहरु अरुभन्दा बढी प्रभावित हुने नुरस्कीले बताइन् ।  

    प्रिन्सटन, युनिभर्सिटी अफ पेन्सिल्भेनिया र न्यूयोर्क युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनले टेलिमार्केटर र शिक्षकहरू सबैभन्दा बढी प्रभावित हुन सक्ने देखाएको छ।

    अन्वेषकहरूले च्याट जीपीटी जस्ता सेवाहरूले विभिन्न पेशाहरूलाई कति बाधा पुर्‍याउन सक्छ भनेर मूल्याङ्कन गर्न ‘एआई अकुपेस्नल एक्सपोजर’ नामक बेन्चमार्क ९मानक० प्रयोग गरे। शिक्षा क्षेत्रमा पनि भाषा तथा साहित्य, इतिहास, कानून, दर्शन, धर्म, समाजशास्त्र, राजनीतिशास्त्र र मनोविज्ञानका माध्यमिक तहका शिक्षक सबैभन्दा बढी प्रभावित हुने उनीहरुको निष्कर्ष छ ।

    तर प्रभावित हुनुको अर्थ एआईले लाखौं शिक्षण कार्यहरू खोस्नेछ भन्ने होइन, अध्ययनका अनुसन्धानकर्ताहरू र अन्य विश्लेषकहरू बताउँछन् । बरु यी नयाँ उपकरणहरुले शिक्षकहरुलाई विभिन्न कार्यमा मद्दत गर्न सक्छ । उक्त प्रविधिले ठगी र बौद्धिकताको चोरी पत्ता लगाइ शिक्षण सामाग्रीहरु विकास गर्न समेत मद्दत गर्न सक्छ । ‘एआईले तपाईँको केही कामहरु स्वाचालित गर्छन्, तर यसको मतलव यो होइन कि त्यसले तपाईँको सबै काम गर्न सक्छ’, नुरस्कीले भनिन् ।  

    यसैबीच, एआईको सीमितता पत्ता लगाई मानिसलाई प्रतिस्थापन गर्न योग्य छ वा छैन भन्नेबारे जाँच गर्न सकिन्छ । च्याट जीपीटीले यसको सफलतासँगै त्रुटिहरू पनि उत्पादन गरिरहेको छ । उक्त एप अझैपनि ‘त्रुटिपूर्ण र सीमित’ भएको सिर्जनाकर्ताहरू आफैंपनि स्वीकार गर्छन् । जस्तो कि, यो आधारभूत गणित गणना र तर्कमा असफल भएको छ ।

    तर, केही नोकरीहरु यसले धरापमा पार्न सक्छ । 

    ‘विस्थापन प्रभावलाई हेर्ने अध्ययनहरूले भाषा अनुवादक वा फोन अपरेटरहरू जस्ता नियमित कामहरू एआईद्वारा विस्थापित हुन सक्ने पत्ता लगाएको छ’, श्रम बजारमा नयाँ प्रविधिको प्रभाव अध्ययन गर्ने म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता जर्जियोस पेट्रोपोलोसले भने । 


    तर एआईसँग ‘रोजगारी सिर्जना गर्ने सम्भाव्यता पनि छ’, नुरस्कीले भनिन्। वर्ल्ड इकोनोमिक फोरमले अक्टोबर २०२० मा निष्कर्ष निकालेको थियो कि एआईले सन् २०२५ सम्ममा विश्वव्यापी रूपमा ८ करोड ५० लाख मानिसहरुको रोजगारी खोस्नेछ । तर ९७ मिलियन मानिसहरुका लागि यसले मेसिन लर्निङदेखि सूचना सुरक्षा र डिजिटल मार्केटिङसम्मका रोजगारी सिर्जना गर्नेछ । 

    ‘के कुरा निश्चित रूपमा भन्न सकिन्छ भने यसले हाम्रो काम गर्ने तरिका परिवर्तन गर्नेछ’, नुरस्कीले भनिन् । 

    कामलाई थप प्रभावकारी बनाउने

    अहिलेसम्मको उपलब्धी हेर्दा उक्त एआईको प्रयोगले उत्पादकतामा आंशिक रुपमै भएपनि सुधार ल्याएको  अर्थशास्त्रीहरू र प्राविधिक विश्लेषकहरू बताउँछन् ।  यसको प्रमाण दिइराख्नुपर्ने आवश्यकता छैन । 


    एमआईटीका दुई शोधकर्ताहरूद्वारा गरिएको एउटा नयाँ अध्ययनले, च्याटजीपीटीले मध्य–स्तरको व्यावसायिक लेखन कार्यहरु गर्ने कलेज–शिक्षित पेशाकर्मीहरुको उत्पादकतामा उल्लेखनीय वृद्धि भएको देखाएको छ । उक्त अध्ययनको सहकर्मी समीक्षा भने यतिन्जेल गरिएको छैन । 

    शोधकर्ताहरूले ४४४ लेखकहरू, सल्लाहकारहरू र मानव संसाधन पेशाकर्मीहरुलाई प्रेस विज्ञप्ति, छोटो रिपोर्टहरू, विश्लेषण योजनाहरू, र केही सामान्य इमेलहरू लेख्न आग्रह गरे । ती मध्ये आधाले च्याटजीपीटी प्रयोग गरे। अध्ययनले पत्ता लगायो कि कम–दक्ष कामदारहरूले विशेष रूपमा उपकरणबाट फाइदा उठाए, जसले लाग्नेभन्दा कम समयमा सक्काउन मद्दत गर्‍यो । जसका कारण कम–दक्ष र अधिक दक्ष कामदारहरू बीचको गुणस्तरमा हुने भिन्नता घट्यो ।

    ‘पेट्रोपोलोस’ कम्पनीका लागि भने यो कुनै नयाँ कुरा होइन । 

    विगतका औद्योगिक क्रान्तिहरुमा पनि केही अवधिसम्म रोजगारी विस्थापन भएका थिए । तर बजार स्वचालित भएपछि बढेको उत्पादकत्वले थप रोजगारीका अवसरहरु सिर्जना हुँदै जान्छ ।


    जस्तो कि, अटोमोबाइलको आविष्कारपछि घोडाको प्रयोगले यात्रु तथा सामानको ओसारपसार गर्ने मानिसहरुको रोजगारी घट्यो । तर त्यस्को केही वर्षमा नै कारहरुको माग बढ्न थालेपछि अटोमोबाइल उद्योग सफल भयोे । जसले गर्दा पहिले रोजगारी गुमाएका भन्दा बढी मानिसहरुले रोजगारीको अवसर पाए ।  

    शिक्षाको अतिरिक्त, च्याटजीपीटी जस्ता उपकरणले कानुनी सेवाहरु र धितोपत्रहरु, वस्तुहरु र लगानीका क्षेत्रहरुमा प्रभाव पार्न सक्ने अध्ययनले देखाउँछ । विश्वको सबैभन्दा ठूलो लगानी व्यवस्थापन फर्महरू मध्ये एक रहेको ‘मोर्गन स्टेनली’ च्याटजीपीटी जस्तै प्रकृतिको आफ्नै उपकरणको विकास गर्दै छ । 

    तर केही कामका लागि एआईको प्रयोग गरिने भएतापनि श्रमशक्तिलाई प्रतिस्थापन गर्न भने नसक्ने विज्ञहरु बताउँछन् । जस्तै एक वकील जसले अदालतमा बहस गर्नु पर्छ, फार्मासिस्टले औषधी बेचेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । जसको प्रतिस्थापन एआईद्वारा सम्भव नै छैन । ‘तपाईँले कानुनी नोटहरुको खाका तयार पार्न च्याटजीपीटी जस्ता उपकरणको प्रयोग गरेपनि, वहस गर्न त तपाईँ अदालतमा नै जानुपर्ने हुन्छ’, पेट्रोपोलोसले भने । अर्थव्यवस्था र व्यक्तिगत कम्पनीहरुलाई मानवीय र एआई दुवै किसिमका श्रमशक्तिहरुबीच सन्तुलन चाहिने उनी बताउँछन् । 

    गल्ती सहजै नस्वीकार्ने टेस्लाका र स्पेसएक्सका संस्थापक एलोन मस्कले समेत टेस्लाको अत्यधिक स्वचालन गल्ती भएको र प्रविधिलाई चलाउन मानिसकै आवश्यकता पर्ने स्वीकार गरेको बारे उनले औंल्याए । र यस्ता व्यवसायहरु छन्, जसमा प्रतिस्पर्धा गर्न एआईले ठूलो संघर्ष गनुपर्ने हुन्छ । 


    कुनै जादु होइन

    कपडाका कारखाना, इँटा भट्टा, घर बनाउने जस्ता धेरै श्रम आवश्यक पर्ने कामदारहरुको रोजगारीमा च्याट जीपीटीले नगन्य मात्रामा मात्रै प्रभाव पार्नेछ । च्याटजीपीटीबाट प्रभावित हुसक्ने सम्भावना भएका उद्योगहरुको जाँच गर्ने एउटा अध्ययनले न्यून प्रभावबारे निश्चित गरेको हो । 


    एआईले उच्च विशेषज्ञताको आवश्यक पर्नेभन्दा पनि सामान्य सीप आवश्यक पर्ने कामहरुमा बढी अवरोध ल्याउन सक्छ । तर उच्च विशेषज्ञताको आवश्यक पर्ने काममा समेत एआईको प्रयोगले सहज हुनसक्ने विज्ञहरु बताउँछन् । 

    ‘मेसिन लर्निङ अझैसम्म त्यस्तो स्तरमा पुगेको छैन जहाँ यसले आवश्यक रूपमा दक्ष रोजगारीहरूलाई प्रतिस्थापन गर्नेछ’, लन्डन स्कूल अफ इकोनोमिक्सका अर्थशास्त्रका एसोसिएट प्रोफेसर गाय माइकल्सले अल जजीरालाई भने,‘हामीले एआईको कामप्रति असन्तुष्ट भएर कामदारहरू प्रतिस्थापन गरेको देखेका छौं’ । 

    च्याट जीपीटी जस्ता उपकरणका कारण रोजगारी गुमाउन सक्ने कामदमरहरुले पनि यसका बारेमा बुझेर आफ्नो सीप अपग्रेड गर्नुपर्ने नरस्की बताउँछिन् । 

    एआईलाई कत्तिको प्राथमिकतामा राख्ने भन्ने कुरा प्रविधिको नभई मानिसको हातमा छ । अन्त्यमा, ‘च्याटजीपीटी जस्ता भाषा मोडेल उपकरणहरुले दिएको सेवामा मानिसहरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुरामै ती प्लेटफर्मको सफलता र असफलता निर्भर रहन्छ’ माइकल्सले भने । ‘मानिसहरुले ती उपकरणका उत्पादनमा सन्तुष्ट हुन सक्दैनन्’ उनले भने । 

    सन् २०२० मा चीन र अमेरिकाका अनुसन्धानकर्ताहरुको टोलीले ६७० अनलाईन खरिदकर्ताहरुमा ‘एआई ग्राहक सेवा’ को अनुभवबारे प्रतिक्रिया लिन एक सर्वेक्षण गर्यो । जसमा धेरैले जुनसुकै समयमा सोधिएपनि आफ्नो प्रश्नको जवाफ चाँडो आउने भएका कारण एआईको प्रयोग सही भएको बताएका थिए । तर केहीले मानिसले दिने भन्दा अस्पष्ट जानकारी दिएको समेत बताएका थिए । 

    सन् २०२० मै अष्ट्रेलियामा पनि होटलका ग्राहकहरुमा एक सर्वेक्षण गरिएको थियो । जसमा ग्राहकहरुले एआई भन्दा मानिससँगै व्यवहार गर्न रुचाउने निष्कर्ष पाइएको थियो । 

    एआईलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने पुरा अधिकार हामीसँग छ, त्यसैले रोजगारीको अवसर खोस्ला भनेर डराउनुपर्ने कुनै आवश्यकतै छैन । 

    ‘हामीले यन्त्र उपकरणको आविष्कारदेखि कम्प्युटरबाटै काम गर्न सकिने सम्मका सफलता देखेका छौं । हामी अझैपनि काम गरिरहेका छौं । मात्र कामको प्रकृति फरक छ ’, नुरस्कीले भनिन् । टेक्नोलोजीले केही हदसम्म मानिसले गर्ने काम गर्नसक्ने भएतापनि, आफूहरुले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न भने नखोजेको उनी बताउँछिन् । 

    न त यो प्रविधिको क्षेत्रमा आएको पहिलो परिवर्तन हो न त अन्तिम नै भएको उनी बताउँछिन् । 

    (अल जजीरा)


    images

    Logo