काठमाडौं । विगत केही दिनदेखि निरन्तर सकारात्मक सर्किट लागि कारोबार भईरहेको महिला लघुवित्त वित्तीय संस्थाले बिहीबारको बजारमा पनि सकारात्मक सर्किट कायम गर्न सफल भएको छ ।
बिहीबारको बजारमा सो लघुवित्त कम्पनीको शेयरमूल्य ३१२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको २८४१ रुपैयाँ मूल्यमा सकारात्मक सर्किट लागि बिहीबार ३१२५ रुपैयाँ कायम हुन पुगेको हो । बिहीबार कारोबार खुलेको करिब २ घण्टासम्ममा सो लघुवित्त कम्पनीको १३०० भन्दा बढी कित्ता कारोबार भएको छ भने अझै पनि १ लाख ६० हजार बढी कित्ताको खरिद चाप रहेको छ भने बिक्री चाप शून्य रहेको छ ।
हाल नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि.को शेयरमूल्य सर्वाधिक अर्थात् ४८६० रुपैयाँ रहेको छ । चालु आवको दोस्रो त्रैमासको विवरणमा ७ करोड ९२ लाख चुक्ता पुँजी देखाएको सो लघुवित्त कम्पनीले गत आवको मुनाफाबाट ४९.४० प्रतिशतको लाभांश प्रदान गरी हाल ११ करोड ८३ लाख रुपैयाँ चुक्तापुँजी कायम गरेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो लघुवित्त कम्पनीको प्रतिशेयर आम्दानी ६९ रुपैयाँ ३१ पैसा रहेको थियो ।
कसरी अब्बल छ महिला लघुवित्त ?
हाल सर्वाधिक मूल्य रहेको जनउत्थान सामुदायिक लघुवित्तसँग तुलना गर्ने हो भने महिला लघुवित्तको सबैजसो वित्तीय सूचकहरु जनउत्थान सामुदायिक लघुवित्तको भन्दा अब्बल रहेको पाइन्छ । प्रतिशेयर आम्दानी, चुक्ता पुँजी, नेटवर्थलगायत बजार मूल्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने वित्तीय सूचकहरुका आधारमा महिला लघुवित्त जनउत्थान सामुदायिक लघुवित्तभन्दा अब्बल देखिएको हो ।
हेर्नुहोस् तालिकामा(दोस्रो त्रैमासिक विवरणअनुसार)
| लघुवित्त कम्पनीको नाम | महिला लघुवित्त | जनउत्थान सामुदायिक लघुवित्त | कैफियत |
| चुक्ता पुँजी | ६ करोड(दोस्रो त्रैमासमा,आईपीओ जारी पछि १० करोड) | ७ करोड ९२ लाख बोनस सूचीकरणपछि ११ करोड लाख |
चुक्ता पुँजी कम भएमा बोनस र हकप्रदको सम्भावना रहने भएकाले मूल्य बढी हुने |
| रिजर्भ | १८ करोड | १२ करोड | जगेडा कोषले संस्थाको वित्तीय सबलतालाई देखाउने भएकाले जगेडा कोष बढी हुनेको शेयर मूल्य पनि अधिक हुने |
| प्रतिशेयर आम्दानी | १८१ रुपैयाँ | ६९ रुपैयाँ |
प्रतिशेयर आम्दानी नै प्रतिफलको कारण हुने भएकाले जसको प्रतिशेयर आम्दानी छ, उसैको मूल्य अधिक हुने |
यसरी हेर्दा हाल नेप्सेमा सूचीकृत भई कारोबार भईरहेका लघुवित्त कम्पनीहरुमध्ये सर्वाधिक प्रतिशेयर आम्दानी रहेको महिला लघुवित्तका सबै वित्तीय सूचकहरु सबल देखिएका हुन् । यी वित्तीय सूचकहरुका आधारमा हेर्दा हाल सर्वाधिक मूल्य रहेको जनउत्थान सामुदायिक लघुवित्तकोभन्दा महिला लघुवित्तको बजार मूल्य बढी जाने आँकलन गर्न सकिन्छ ।


