काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारीले आज बिहीबार प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ समक्ष सिंहदरवारमा छुट्टा छुट्टै भेट गरी सो माग राखेका हुन् ।
महासंघका तर्फबाट ती दुवै भेटवार्तामा थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न सुझाएको छ ।
सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड दिइएको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी रहनुभएको भेटवार्तामा अध्यक्ष गोल्छाले कोभिडले थलिएको उद्योग व्यवसायलाई माथि उठाउन अनुरोध गर्नु गरे ।
अर्थतन्त्रलाई टिकाउन अग्रभागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कामदार कर्मचारीलाई खोपमा अनिवार्य व्यवस्था गर्न महासंघले दुवै भेटवार्तामा आग्रह गरेको थियो । सरकारको राजस्वको मुख्य स्रोत निजी क्षेत्र र निजी क्षेत्रद्वारा सृजना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी नै हो ।
हामीले दिएका सुझाव बजेटमा पनि समेटिएका छन । मौद्रिक नीतिका लागि पनि हाम्रा सुझाव दिएका छौ । तीनको प्रभावकारी कार्यान्वयन हामीले खोजेका छौ र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेका छौ, अध्यक्ष गोल्छाले भने ।
अवको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यका साथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारले समेत यसको अपनत्व लिई सकेकाले त्यसको कार्यान्वयनमा पनि सहयोग खोजेको भेटवार्तामा महासंघकातर्फबाट स्पष्ट रुपमा राखिएको थियो । महासंघले नेट २०३० का विषयमा छिट्टै विस्तृतरुपमा जानकारी गराउने पनि अध्यक्ष गोल्छाले सो अवसरमा प्रतिवद्धता जनाएको छ ।
महासंघसंगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउंदै निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध गरे ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोप लगायत अन्य आवश्यक कार्यमा आफना तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउंदै निजी क्षेत्रसग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । अर्थमन्त्री शर्माले महासंघले दिएका सुझावलाई सहयोग गर्ने र आगामी सहकार्यका लागि छिट्टै विस्तृत छलफल गर्ने आफ्नो योजना रहेको पनि बताए ।


