काठमाडौं । एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ। मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित कार्यक्रममा एप्पलले आइफोन १५ को आधारभूत मोडेलसँगै आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स सार्वजनिक गरेको हो ।
नयाँ आइफोनमा डिजाइन तथा फिचर्समा निकै केन्द्रित भएको एप्पलले दुबै फोनमा टाइटेनियम बडी तथा बेजलको आकार घटाएको छ भने क्यामराको गुणस्तरलाई निकै उत्कृष्ट बनाएको दाबी गरेको छ ।आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ। एप्पलले आइफोन १५ सिरिज र एयरपड्स प्रो डिभाइसहरूमा युएसबी–सी चार्जिङ केबल प्रदान गर्ने बताएको छ।
सार्वजनिक गरिएको नयाँ आइफोन १५ सिरिजअन्तर्गतको आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ। आइफोन १५ प्रो यीबाहेक १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ भने आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुनेछ।
कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर तोकेको छ। आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९, आइफोन १५ प्रोको ९९९ र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ डलर तोकिएको छ।
आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको हो। दुवै मोडल ए १६ बायोपिक प्रोसेसरद्वारा सञ्चालित छन्। यी मोडलहरू गुलाबी, पहेँलो, हरियो, निलो र कालो गरी पाँच विभिन्न रङमा सार्वजनिक गरिएको हो।
आइफोन १५ प्रो गेमिङ–केन्द्रित सफ्टवेयर सुविधाहरूसहित तयार पारिएको छ। यसमा ए १७ प्रो चिप र मल्टिपल लेन्ससहितको प्रो–लेभल क्यामेरा प्रणाली दिइएको छ। आइफोन १५ प्रो म्याक्स पनि ए १७ चिपमा आधारित छ।
आइफोन १५ प्लो म्याक्समा विशेष यसको क्यामेरा छ। यसमा १० एक्ससम्म जुम गर्न मिल्ने अप्टिकल जुम रेन्ज दिएको छ। आइफोन प्रोमा ६.१ इन्चको डिस्प्ले दिइएको छ भने आइफोन प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ।
आइफोन १५ प्रो र प्रो म्याक्स नेचुरल टाइटानियम निलो, सेतो र कालो गरी ४ रंगमा सार्वजनिक गरिएको छ।एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ९ मा एस–९ चिप दिइएको छ, जुन तुलनात्मक रूपमा राम्रो मानिन्छ। एप्पलको अल्ट्रा २ को ब्याट्री क्षमतामा पनि विकास गरेको बुझिन्छ। यसलाई एक पटक पूरा चार्ज गरेपछि ३६ घण्टासम्म चलाउन सकिने दाबी गरिएको छ।


