images
images

विशालबजार कम्पनीको शेयरमूल्य एकसातामै दोब्बर, किन बढ्दैछ मूल्य ? यस्ता छन् ५ कारण


  • 2.2K
    SHARES
  • २०७८ बैशाख १९ गते आइतबार

    विशालबजार कम्पनीको शेयरमूल्य एकसातामै दोब्बर, किन बढ्दैछ मूल्य ? यस्ता छन् ५ कारण

    काठमाडौं । वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाइको भन्दै गत माघ १८ गते विशालबजार कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गर्यो । सोही दिन अर्को कम्पनी राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार पनि रोक्का गरिएको थियो । राष्ट्रिय बीमा कम्पनीको कारोबार चैत २ गतेदेखि हुन थाल्यो । विशालबजार कम्पनीको कारोबारको लागि भने करिब ३ महिना कुर्नुपर्यो । 

    तर, यही बैशाख ९ गतेदेखि कारोबार सुरु भएको विशाल बजारले शेयर मूल्यमा भने दोब्बर फड्को मारिसकेको छ । कारोबार सुरु भएपछि सो कम्पनीको शेयर ६ दिन मात्रै कारोबार भएको छ । तर, ६ दिनमा १०/१० प्रतिशतको वृद्धिले उक्त कम्पनीको शेयरमूल्य दोब्बर पुगिसकेको छ । 

    किन बढ्यो शेयरमूल्य ? 

    विशालबजार कम्पनीको शेयर बढ्नुको पछाडि शेयर बजारका जानकारहरु विभिन्न कारण औंल्याउँछन् । बढ्दो बजार, बन्द भएको अवधिमा बढेको बजार, सरकारी कम्पनीको सेन्टिमेन्ट, शेयर संख्या कम हुनु तथा कम्पनीको आम्दानी र रिजर्भको अवस्थाका कारण यसरी मूल्य बढेको उनीहरुको अनुमान छ । 

    अहिले बजार बढ्दै गएको छ । विशालबजारको कारोबार खुला भएको ६ दिन भयो । सो अवधिको पहिलो २ दिन बजार तल झरे पनि त्यसपछि बजार सकारात्मक बन्दै गएको छ । सकारात्मक बजारमा लगानीकर्ताको मनोबल उच्च भएकोले यसको मूल्य बढ्न सहयोग गरेको हो । 

    अर्कोतिर सो कम्पनीको कारोबार बन्द हुँदा शेयर बजार २ हजार ४ सय विन्दुको हाराहारीमा थियो । यतिबेला यो शेयर २ हजार ५ सय ५० अंकभन्दा माथि पुगिसकेको छ । कारोबार रोक्का भएको अवधिमा बजार बढ्नुले पनि यसको मूल्य वृद्धिमा सहयोग गरेको विश्लेषकहरु बताउँछन् । 

    विशाल बजारमा सरकारी कम्पनी हुनुको सेन्टिमेन्ट पनि छ । विशाल बजार कम्पनीकाे शेयर आफूले पाउनुपर्ने माग गर्दै सरकारी पक्षले दायर गरेको मुद्दाको पक्षमा अदालतको फैसला आइसकेकाे छ । सरकारी लगानीको कम्पनीहरुको मूल्य तुलनात्मक रुपमा उच्च भएका कारण पनि बजारले यो कम्पनीको शेयरलाई उच्च मूल्य तिर्न चाहेको अनुमान गरिन्छ । व्यापारमूलक कम्पनीकै रुपमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य अहिले १० हजार रुपैयाँभन्दा बढी छ । अरु सरकारी कम्पनीको शेयर पनि तुलनतात्मक रुपमा उच्च रहेको छ । 

    त्यसो त, सबैभन्दा ठूलो कारण चाहिँ शेयरको कम आपूर्ति पनि हो । अहिले विशालबजार कम्पनीको चुक्ता पुँजी ५ करोड रुपैयाँ मात्रै छ । शेयर संख्या कम भएका कारण आपूर्ति कम भएकोले पनि मूल्य बढेको विश्लेषण समेत गरिन्छ । 

    आधारभूत रुपमा हेर्दा पनि विशालबजार कम्पनी आफैंमा एउटा बलियो कम्पनीको रुपमा स्थापित छ । ५ करोड चुक्ता पुँजी भएको कम्पनीसँग रिजर्भमा मात्रै ७९ करोड रुपैयाँ छ । त्यस्तै सो कम्पनीले दोस्रो त्रैमाससम्म सो कम्पनीको प्रतिशेयर आम्दानी २ सय ५० रुपैयाँ थियो । पनि यो आम्दानी निरन्तर हुने अवस्था देखिन्छ । दोस्रो त्रैमासको मूल्यलाई आधार मान्ने हो भने अहिलेको मूल्य आम्दानी अनुपात करिब २२ गुणा हुन आउँछ । एक साताअघि यस्तो अनुपात ११ मात्रै थियो । 

    विशालबजार कम्पनी व्यापारमूलक कम्पनी भएको र यसले भाडा उठाउने भएकोले अहिलेको निषेधाज्ञा लगायत कोभिड महामारीको प्रभाव यसमा कम हुन्छ । सरकारले घरभाडा छुट दिन आह्वान गर्दाको अवस्थामा बाहेक आम्दानी भइरहने भएकोले पनि बजारले यो कम्पनीलाई कम जोखिमपूर्ण मानेको समेत विश्लेषकहरु बताउँछन् ।

    कति पुग्ला मूल्य ? 

    मूल्य दोब्बर पुग्दा पनि अहिले सो कम्पनीको शेयरको माग घटेको छैन । आइतबार बजारमा ५ हजार ६ सय मूल्य पुग्दा शेयरको माग १२ हजार कित्ता भन्दा बढी थियो । तर, आपूर्ति भने शुन्य थियो । यसको अर्थ अझै केही दिन सो कम्पनीको मूल्य बढ्नसक्ने अनुमान गर्न सकिन्छ । 

    BBC-marketdepth.JPG

     

     


    images

    Logo