images
images

ग्यास उद्योगमा पनि मर्जरको सिस्टम ल्याउनुपर्छ, उद्योगी सुरेन्द्रराज पाैडेलको विचार


  • 1.7K
    SHARES
  • २०७८ भाद्र ९ गते बुधबार

    ग्यास उद्योगमा पनि मर्जरको सिस्टम ल्याउनुपर्छ, उद्योगी सुरेन्द्रराज पाैडेलको विचार

    मसँग अहिले तीनवटा ग्यास उद्योग छन् । बाबा, नेपालको सबैभन्दा पुरानो ग्यास उद्योग हो । अर्को लुम्बिनी पनि नेपालको धेरै पुरानो ग्यास हो । श्री चाहिँ बाबा र लुम्बिनीको तुलनामा नयाँ ग्यास उद्योग हो । 

    ग्यास उद्योग सञ्चालन गर्ने भनेको नेपाल आयल निगमसँग ग्यास खरिद गर्ने हो । अझ नेपाल आयल निगमले तोकेका भारतका कतिपय ठाउँमा गएर ग्यास लिएर आउने हो । र, ल्याएर ‘फिलिङ’ गर्ने हो ।  

    मलाई लाग्छ नेपालमा ग्यास उद्योगको संख्या ५८/५९ पुगिसक्यो । यी सवैले भारतका बरौनी, हल्दिया लगायतका ठाउँबाट ग्यास लिएर आउँछन् र ल्याएर ‘फिलिङ’ गर्छन् । यसो हेर्दा ‘ट्रेडिङ’ बिजनेस जस्तो लागेपनि यसलाई उद्योग नै मानिन्छ । र, मान्ने चलन छ । 

    सामान्यतया ग्यास ब्यवसाय राम्रै छ । राम्रै मानिन्छ । यो उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय हो । सबैको चुलो बाल्ने ब्यवसाय हो । त्यसकारण यसभित्र सन्तुष्टि पनि छ । तर, यस उद्योग– व्यवसायभित्र केही विडम्बनापूर्ण र केही दु:खद पक्ष पनि छन् ।  

    कतै–कसैको ग्यास सिलिन्डर बिस्फोट हुन्छ । त्यसबेला ग्यास कम्पनीको नाम तोकेर समाचार आउँछ । जो सोह्रैआना गलत हो । ग्यास सिलिन्डर आफैं बिस्फोट हुँदैन । त्यहाँ उपभोक्ताको गल्ती हुन्छ–हुन्छ । रेगुलेटर र पाइपका कारण, उपभोक्ताको असावधानीका कारण भएका गल्ती र दुर्घटनाहरुको दोष हाम्रो टाउकोमा सीधै हालिन्छ । राखिएको ठाउँबाट ग्यास सिलिन्डर पड्कियो रे भनेर आजसम्म कहिँ कतै सुन्नु भएको छ ? मैले चाहिँ सुनेको छैन । तर पनि जनचेतना जगाउने काममा हामी लाग्नै पर्छ । र, लागेका पनि छौं । 

    LP gas industry.jpg

    ग्यास उद्योग संख्यात्मकरुपमा धेरै भएको मेरो मूल्यांकन छ । यी उद्योगहरुलाई मर्ज गरेर घटाउनु पर्छ भन्ने मलाई लाग्छ । तर, उद्योगीहरुलाई ‘ब्रान्च’ खोल्न भने छुट दिइनुपर्छ । जस्तो, म बाबा ग्यासलाई देशभरी विस्तार गर्न चाहन्छु भने चितवनमा भएको उद्योगले मेची–महाकाली सप्लाइ गर्न सम्भव हुँदैन । बाबालाई धनगढीमा ‘ब्रान्च’ दिनु व्यवहारिक हुन्छ ।

    अर्को कुरा अन्धाधुन्ध रुपमा ग्यास व्यवसायमा हामफाल्ने काम भइरहेको छ । यस व्यवसायको गहिरो ‘रिसर्च’ बिना कसैले पनि ‘इन्ट्री’ नगरुन् भन्ने मेरो कामना छ । नेपाल आयल निगमले पनि यो कार्य रोक्नु पर्छ । ब्याज तिर्न नसकिने ब्यवसायमा व्यवसायीहरु नथपिउन् भन्ने मेरो कामना पनि छ ।

    हामी व्यवसायीले जति लगानी गर्छौं, त्यस अनुसारको मुनाफा भएन भने कसरी र कहिलेसम्म अघि बढ्ने भन्ने प्रश्न आइरहन्छ । ग्यास ब्यवसायीलाई सरकारले त्यसैगरी राखेको छ । तोकेरै भन्नुपर्दा ३२ रुपैयाँजति छ, प्रति सिलिन्डर मुनाफा । मासिक दुई लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म सिलिन्डर भरेर उपभोक्तालाई पठाई रहेका छौंं हामी । के १ सय ५० करोड रुपैयाँ जति मेरो लगानीलाई यो मुनाफाले बचाउन सक्छ ? मेरो अनुभवमा बैंकको ब्याज तिर्न समेत पुग्दैन । नेपाल आयल निगम यस विषयमा गम्भिर बन्नै पर्छ ।  

    नेपाल आयल निगमको वर्तमान नेतृत्वको काम, कर्तब्य र सक्रियता तारिफयोग्य छ । सुरेन्द्र पौडेल सरले व्यवसायीको अवस्था पनि बुझेर सबैलाई उत्साहित गर्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्थ्यो । लगानी अनुसारको ‘फेसिलिटी’ आजको आवश्यकता हो । नेतृत्व पक्ष यस सवालमा बेलैमा सचेत हुन जरुरी छ । 

    (कुराकानीमा आधारित)


    सुरेन्द्रराज पाैडेल
    पाैडेल ग्यास उद्योगी तथा निर्माण व्यवसायी हुन् ।


    images

    Logo