काठमाडौँ । डिजिटल प्रणालीबाट हुने कारोबार असार महिनामा दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा २७ खर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर ५२ खर्ब रुपैयाँ पुगेको हो ।
राष्ट्र बैंकका अनुसार आरटीजीएस, एटीएम, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, वालेट, क्यु आर सिस्टम, पीओएस र इ–कमर्स प्रणालीबाट उक्त रकम कारोबार भएको हो ।
असार महिनामा मात्रै आरटीजीएस प्रणालीबाट मात्रै ३५ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जेठ महिनामा यस्तो कारोबार १९ खर्ब रुपैयाँ थियो ।
त्यस्तै, मोबाइल बैंकिङबाट ७३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ७ लाख कारोबारमार्फत् उक्त रकमको कारोबार भएको हो । असार महिनामा मात्रै एटीएमबाट ६४ अर्ब रुपैयाँको कारोबार भएको देखिएको छ । त्यस्तै वालेट मार्फत १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।
डिजिटल प्रणालीमा प्रयोगकर्ताको पहुँच कति ?
पछिल्लो समय डिजिटल माध्ययमबाट कारोबार गर्ने प्रयोगकर्ताहरुको संख्यामा वृद्धि आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जेठ महिनामा सबै प्रकारका डिजिटल प्रणालीमार्फत कारोबार गर्ने संख्या ३ करोड ३१ लाख रहेको छ । यो संख्या बढेर असारमा ३ करोड ३८ लाख पुगेको छ ।
पछिल्लो समय वालेट प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । जेठमा ८५ लाख रहेकोमा असारमा ८८ लाख प्रयोगकर्ताको पहुँचमा वालेट पुगेको छ । त्यस्तै, डेविट कार्डमा ८८ लाख, मोवाईल बैंकिङ्गमा १ करोड ४१ लाख तथा इन्टरनेट बैंकिङ्गमा ११ लाख प्रयोगकर्ताको पहुँच रहेको राष्ट्र बैंकले जनाएको छ ।


