काठमाडौं । अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीको टीमले पूर्णता पाएको छ । राजश्व सचिवमा कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रकमा सुमनराज अधिकारीलाई जिम्मेवारी दिइएसँगै अर्थ मन्त्रालयको टीमले पूर्णता पाएको छ । पुस्कर र अर्याललाई अर्थमन्त्री जनार्दन शर्माले आइतबार मन्त्रालयमा स्वागत गरे ।
मन्त्री शर्माले नवनियुक्त सचिवहरुलाई मन्त्रालय अन्तरगतका तीन जना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए ।
वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरुबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे । त्यस क्रममा मन्त्री शर्माले यसअघि आफूले राजश्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्न समेत निर्देशन दिए ।
अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिए । उनले राजश्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजन अनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरुमा रहेको बताए ।
स्वागत कार्यक्रममा नवनियुक्त राजश्व सचिव कृष्णहरि पुष्कर कर्णले ब्यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महशुस गर्ने गरी काम गर्ने गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजश्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए ।
नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने समेत बताए ।


