काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


