काठमाडौं । उखुको अभाव हुँदा एभरेष्ट चिनी मिल आफ्नो पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको छ । महोत्तरीको रामनगरमा रहेको उक्त मिलमा आवश्यक उखु आपूर्ति हुन नसक्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको हो ।
क्षमता अनुसार मिल सञ्चालन हुन दैनिक ४० हजार क्विन्टल उखु आवश्यक पर्ने मिलले जनाएको छ । त्यसबाहेक नै पनि कारखाना परिसरमा १० हजार क्विन्टल उखु जगेडा चाहिन्छ ।
आवश्यक उखु आपूर्ति हुन नसकेपछि मिलले २ दिनअघि सार्वजनिक सूचना जारी गरी बाँकी रहेका उखु सक्दो छिटो उपलब्ध गराउन किसानलाई आग्रह गरेको छ । एभरेष्टले यो वर्ष (२०८०-८१) मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरि २ लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न दैनिक ४० हजार क्विन्टल उखु क्रसिङ गरि ३ हजार ६ क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो । उखु अभावले क्रसिङ र उत्पादन दुवैमा कमी आएको मिलले जनाएकाे छ ।


