काठमाडौँ । दशैँ नजिकिएसँगैँ राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकले भदौ १५ गतेबाट बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्न सुरु गरेको हो ।
अहिलेसम्म ९ ओटा बैंक तथा वित्तीय संस्थाले नयाँ नोटहरु साटेर लगिसकेका छन् । दुई दिनमै एक अर्ब रुपैयाँ बराबरको नयाँ नोटहरु बैंक तथा वित्तीय संस्थाले लगेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले नेपाल अर्थलाई बताए ।
पाँच रुपैयाँ देखि सय रुपैयाँ सम्मका नयाँ नोटहरु बैंक तथा वित्तीय संस्थाले लगेका छन् । दशैँको बेलामा नयाँ नोटको समस्या हुने गरेकोमा यो वर्ष त्यस्तो समस्या नहुने उनको भनाई छ । उनले राष्ट्र बैंकसँग पर्याप्त मात्रामा नयाँ नोटहरु रहेकोले समस्या नहुने बताए ।
बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु भएपनि सर्वसाधरणका लागि तत्काल साट्ने व्यवस्था नहुने भएको छ । कोरोना महामारीको कारण सर्वसाधरणलाई कसरी नयाँ नोट वितरण गर्ने भन्ने कुरा छलफल भएको छैन । त्यसैले तत्काल सर्वसाधरणले नयाँ नोट साट्न पाउने छैनन् ।
तर, राष्ट्र बैंकले स्वास्थ्य मापदण्ड अपनाएर सर्वसाधरणलाई नयाँ नोट बाँड्ने विषयमा छलफल गरीरहेको छ । सम्भवत असोजको सुरुबाट सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने तयारी भइरहेको नेपालले बताए ।


