images
images

विशाल बजार कम्पनीको लुकेको रहस्य, शेयर मूल्य बढेको बढ्यै, लगानीकर्ता यसरी पर्दैछन् सिधै मारमा


  • 1.1K
    SHARES
  • २०७८ बैशाख २० गते सोमबार

    विशाल बजार कम्पनीको लुकेको रहस्य, शेयर मूल्य बढेको बढ्यै, लगानीकर्ता यसरी पर्दैछन् सिधै मारमा


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत विशाल बजार कम्पनीको शेयर मूल्य विगत केही दिनदेखि बढेको बढ्यै छ । २०७७ माघ १८ को नेपाल स्टक एक्सचेञ्जको निर्णयानुसार वित्तीय विवरण नबुझाएको भनी कारोबार रोक्का राखिएको सो कम्पनीको शेयर कारोबार २०७८ वैशाख ८ गतेको निर्णयानुसार फुकुवा भएको थियो । सोपश्चात्को हरेक कारोबार दिनमा सो कम्पनीको शेयर कारोबारमा निरन्तर सकारात्मक सर्किट लाग्दै आएको छ । काराबार बन्द हुँदाको समयमा २८८० रुपैयाँ प्रतिकित्ता मूल्य रहेको सो कम्पनीको शेयर कारोबार खुलेकै दिनमा सकारात्मक सर्किट लागेर ३१६८ रुपैयाँ प्रतिकित्ता पुगेको थियो । त्यसपछिका हरेक दिन कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै सोमबार ६१६८ रुपैयाँ प्रतिकित्ता कायम हुन पुगेको छ । 
    विशाल बजार कम्पनी एक विवादित कम्पनी हो । सरकारी जग्गाको प्रयोग गरी व्यावसायिक कार्य गर्ने प्रयोजनले स्थापना भएको सो कम्पनीमा नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी एवं नेशनल ट्रेडिङ कर्पोरेशनको ३४ प्रतिशत शेयर हिस्सा रहेको छ । पब्लिक कम्पनीका रुपमा दर्ता भई २०४१ सालदेखि नै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको सो कम्पनीको शेयर पुँजी करिब ५ करोड रहेको छ भने कम्पनीमा ८६९ शेयर सदस्य रहेका छन् । 
    विशाल बजार कम्पनीको विवाद लामो समयदेखि चल्दै आएको छ । सरकारी जग्गाको उपयोग गरिएतापनि त्यसको कुनै मूल्याङ्कन नगरिएकोमा पाटन उच्च अदालत र सर्वोच्च अदालतले समेत नेपाल सरकारको ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कायम गर्नुपर्ने आदेश गरिसकेको छ यद्यपि कम्पनीले पछिल्लो समय जारी वित्तीय विवरणमा चुक्ता पुँजी भनी ४ करोड ९१ लाख ४० हजार मात्रै रहेको देखाइएको छ । 
    विशाल बजार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड २५ लाख खुद नाफा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीको रिजर्भमा ७९ करोड २६ लाख रहेको छ । सोही विवरणमा सो कम्पनीको प्रतिशेयर आम्दानी २५० रुपैयाँ हुने देखिन्छ भने प्रतिशेयर नेटवर्थ ७०० भन्दा बढी रहेको देखिन्छ यद्यपि सर्वोच्च अदालतको फैसलाबमोजिम कम्पनीको शेयरमा ३ करोड ९६ हजार कित्ता कायम गरिने हो भने सो कम्पनीको प्रतिशेयर नेटवर्थ निकै कम हुन सक्ने एवं प्रतिशेयर आम्दानी ३ रुपैयाँ हाराहारीमा मात्रै हुने देखिन्छ । लगानीकर्ताले पछिल्लो समयको वित्तीय विवरणमात्रै हेरेर लगानी गर्ने लगानीकर्ताहरु सिधै मारमा पर्न सक्ने देखिन्छ । 


    images

    Logo