काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसुचक नेप्से स्थिर रह्यो । परिसूचक १.९४ प्रतिशतको झिनो अंकले बढेर बन्द भएको हो । दिनभर भने बजार घट्ने र बढ्ने क्रममै थियो । यो वृद्धिसँगै बजार २ हजार ६ सय ५४ दशमलव ६९ विन्दुमा रोकिएको छ । यो दिन ६ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
समग्र बजार स्थिर भए पनि ९ वटा कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । समता लघुवित्त, महिला लघुवित्त, विशालबजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी जलविद्युत्, रुरु जलविद्युत्, सिंगटी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
किन बढ्यो मूल्य
मंगलबार शेयर बजारमा समग्र परिसूचकमा स्थिरता देखिए पनि क्षेत्रगत उपसूचकमा उतारचढाव देखिएको छ । मंगलबार व्यापारमूलक क्षेत्र, लघुवित्त र हाइड्रो क्षेत्रमा सुधार देखिएको हो ।
व्यापारमूलक क्षेत्रमा पर्ने विशालबजार कम्पनीको शेयरमा सकारात्मक सर्किटका कारण यो परिसूक बढेको हो ।
लघुवित्तमध्ये समता लघुवित्तको शेयर आजदेखि कारोबार सुरु भएकोले बढेको हो । महिला लघुवित्तको शेयर बजारमा सूचीकृत भएदेखि नै बढ्दै आएको छ ।
विशालबजार कम्पनी पनि विगत ८ कारोबार दिनदेखि निरन्तर रुपमा बढिरहेको छ । सपोर्ट माइक्रोफाइनान्समा भने आज उल्लेख्य कारणविनै सकारात्मक सर्किट लागेको हो ।
हाइड्रोतर्फ रुरु र सिंगटी पनि आईपीओ जारी भएदेखि नै सकारात्मक सर्किट लाग्दै गएका कम्पनी हुन् । राधी जलविद्युत्, युनाइटेड मोदी र पञ्चकन्या पनि आज सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी गुमाउने चन्द्रागिरी हिल्सको मूल्य १.९८ प्रतिशतले घटेको छ ।


