काठमाडौँ । उदयपूर सिमेण्टले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो उद्योगले पछिल्लो ६ महिनामा उत्पादनलाई बढाउन सफल रहेको जनाएको छ ।
७७ पुष मसान्तसम्ममा ७ लाख बोरा सिमेण्ट बिक्री गरेको उद्योगले त्यसपछिको अवधिमा (असार मसान्तसम्म) १० लाख ६९ बोरा सिमेण्ट बिक्री गरेको हो ।
सरकारी स्वामित्वका उद्योगहरुले सरकारलाई ठुलो नोक्सान गरिरहेको बेला उदयपुर सिमेन्टमा देखिएको परिवर्तन सकरात्मक भएपनि पुराना मेशिनरी उपकरण तथा जनशक्तिको कारण क्षमता अनुसारको उत्पादन दिन सकिरहेको छैन । २९ वर्ष अगाडि सुरु भएको उद्योगका अधिकांश उपकरण जीर्ण अवस्थामा रहेका छन् । ती उपकरणको मर्मतमा ठुलो धनराशी खर्च भइरहेको उद्योगले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
उद्योगले बजारमा आवश्यकमात्रामा सिमेण्ट बिक्री गर्न नसकेको रिपोर्टमा उल्लेख गरिएको छ । क्षमता अनुसारको उत्पादन गर्न नसक्नु, उपकरण बिग्रँदा उत्पादन बन्द हुनु, बजारमा ब्राण्ड इमेज कायम गर्न नसक्नु उद्योगको कमजोरी रहेको रिपोर्टमा उल्लेख छ ।
यावत् समस्याका वावजुत् उद्योगमा सुधारका कोशिसहरु भएका छन् । बन्दको अवश्थामा रहेको उद्योगले नियमित उत्पादन तथा बिक्री गर्न सक्ने आधारहरु तयार गरेको छ । यी कोशिसहरुलाई सकरात्मक रुपमा लिइएको कम्पनीले जनाएको छ ।
६ महिनामा भएका उपलब्धि
कम्पनीमा रहेका यावत् समस्या समाधानको लागि तिव्र गतिमा काम गरिरहेको रिर्पाटमा उल्लेख छ । उद्योगले माघ १ गतेदेखि सिमेण्ट प्लान्ट सञ्चालन गरेको उद्योगले १० गतेबाट क्लिंकर प्लाण्ट सञ्चालनमा ल्याएको थियो । पुष महिनामा शून्य अवस्थामा रहेको क्लिंकर उत्पादनका लागि आवश्यक कच्चा पदार्थको तत्काल व्यवस्थापन गरेको रिपोर्टमा उल्लेख छ ।
कच्चा पदार्थहरु(कोइला, जिप्सम, आइरनओर) को सम्झौता अनुसारको भुक्तानी सिमेण्ट दिएर गर्ने गरेकोमा बैंकिङ प्रणाली मार्फत दिन कम्पनीले सुरु गरेको छ । उद्योगले फिजिकल स्टकमा देखिएको असन्तुलनलाई व्यवस्थित गर्न उपसमिति बनाएर काम गर्ने तथा फागुन महिनासम्म तिर्न नसकेको विद्युत् महसुललाई डेडिकेटेड फिडर वापत तिरेको महसुलमा मिलान गरिदिन विद्युत् प्राधिकरणलाई पत्राचार गर्ने लगायतका काम गरेको छ ।
उद्योगको आम्दानी बढाउनको लागि कम्पनीले उत्पादनमा बृद्धि गरेको छ । पुष मसान्तमा ७ लाख बोरा सिमेण्ट बिक्री गरेको उद्योगले असार मसान्तमा पुग्दा १० लाख बोरा बिक्री गरेको छ यो बिक्री उत्पादन क्षमताभन्दा कम हो । सो बाट ७९ करोड रुपैँया आम्दानी गरेका रिपोर्टमा उल्लेख छ ।
उद्योगले सो अवधिमा गरेको आम्दानी इन्धन तथा कच्चा पदार्थ, विद्युत् महशुल, कर्मचारीको तलब भत्ता, कर लगायतका शिर्षकमा खर्च गरेको छ । उद्योगले यो आर्थिक बर्षमा ३१ करोड रुपैँया बराबर दायित्वको भुक्तानी दिएको जनाएको छ । यसको साथै ७७ पौष मसान्तसम्ममा सिमेण्टको अन्त शुल्क, मुअकर, खानी दस्तुर, टीडीएस तथा अन्य राजस्व बक्यौता १३ करोड रुपैँया रहेकोमा ३ करोड रुपैँया भुक्तानी दिएको छ ।
जापान सरकारले कम्पनीलाई दिएको अनुदानलाई नेपाल सरकारले ऋणको रुपमा लेखाङ्कन गर्न लगाएको छ । सो १ अर्ब ७२ करोड ऋणलाई साधारण शेयरमा परिवर्तन गर्ने कम्पनीले निर्णय गरेको छ । यसबाट उद्योगलाई ब्याजको भार नपर्ने हुनाले प्रतिबोरा ३० रुपैँया बराबरको लागत कम हुने कम्पनीले जनाएको छ ।
साथै यो ६ महिनाको अवधिमा इआरपी सिस्टम जडान, वित्तीय विवरण एनएफआरएसमा आधारित रहेर तयार गर्न कन्सल्टेण्ट नियुक्त गर्ने लगायतका कामहरु भएका छन् ।
अहिले उद्योगमा ५३३ जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । यसअघि ७८८ कर्मचारी कार्यरत थिए । कर्मचारीलाई प्रोत्साहन गर्नको लागि सिमेण्टले विभिन्न सेवा सुविधाको व्यबस्था गरेको छ ।
कानुनी चुनौति
उद्योगले अहिले विभिन्न प्रकृतीका मुद्दा खेप्नु परेको जनाएको छ । सिमेण्टले पावर प्याक, सर्भे भोल्टेज स्टेबलाइजर, ड्राइभरको डिजेल चोरी काण्ड, कोइला नदिई परफरमेन्स बण्ड जफत गरेको, कर्मचारीका सेवा सुविधा तथा रिजेक्टेड कोइला लगायतका मुद्दा व्यहोरीरहेको रिपोर्टमा उल्लेख छ ।
यसका लागि आवश्यक काननी सहजीकरण गरिरहेको र कतिपय मुद्दाहरुको फैसला सकरात्मक रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
वार्षिक २४ लाख बोरा सिमेण्ट उत्पादनको लक्ष्य
लामो समय अव्यवस्थित रुपमा रहेको उद्योगमा पछिल्लो समय भएका सुधारले वार्षिक २४ लाख बोरा सिमेण्ट उत्पादन गर्न सक्ने कम्पनीले जनाएको छ । सो उत्पादनबाट १ अर्ब ५० करोड रुपैँया आम्दानी हुने कम्पनीको अनुमान रहेको छ ।
जीर्ण भएका अधिकांस उपकरणहरु मर्मत भएकाले यो वर्ष उत्पादन क्षमताको ४७ प्रतिशत सिमेण्ट उत्पादन लक्ष्य लिएको जनाएकाे छ ।


