काठमाडौं । उद्योगी पवनकुमार गोल्यानले स्पिनिङ मिलका ५ हजार कर्मचारीको रोजगारीको चिन्ताले रातमा निन्द्रा समेत लाग्ने अवस्था नभएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको महशुल दर निर्धारण गरेर बिल पठाएपछि उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै यसले ५ हजार कर्मचारीको रोजगारी गुम्ने अवस्था भएको बताए ।
नेपाल धागो उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष समेत रहेका गोल्यानले उनले विद्युत् प्राधिकरणले बिलिङ गरी बक्यौता कायम गरेको उक्त रकम तिर्न नसक्ने अवस्था नभएको समेत बताए । उनले रिलायन्स स्पिनिङ मिल्सको नाममा मात्रै प्राधिकरणले १ अर्ब ७० करोड रूपैयाँको बिल पठाएको भन्दै यो सबै रकम तिर्ने हो भने उद्योग नै बन्द हुने बताए ।
उनले भारतलाई २ रुपैयाँमा बिजुली बेच्न तयार भएको विद्युत्लाई उद्योगीसँग १० रुपैयाँ लिने गरको गुनासो समेत गरे ।
अहिले धागो उत्पादक संघ अन्तर्गत रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल सहित ४ वटा धागो उद्योगहरु रहेका छन् । यी उद्योगहरुले १५ अर्ब लगानी गरी वार्षिक ४५ देखि ५० हजार मेट्रिकटन धागो उत्पादन गर्दै आएका छन् । हालसम्म यो क्षेत्रबाट प्रत्यक्ष रुपमा ८ हजार ५ सय र अप्रत्यक्ष रुपमा १५ हजारले रोजगारी पाइरहेको संघले जनाएको छ । उत्पादित धागोमध्ये ७३ प्रतिशत विदेशमा निर्यात हुने गरेको समेत उल्लेख गरिएको छ ।





