images
images

माघदेखि राष्ट्रिय परिचयपत्र वितरण, पहिलो चरणमा ७० प्रतिशत मतदाताले पाउने


  • 600
    SHARES
  • २०७८ भाद्र २४ गते बिहीबार

    माघदेखि राष्ट्रिय परिचयपत्र वितरण, पहिलो चरणमा ७० प्रतिशत मतदाताले पाउने

    काठमाडौँ । नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय परिचयपत्र माघदेखि वितरण हुने भएको छ । नागरिकको विवरण संकलन गरिरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा १ करोड २० लाख परिचयपत्र वितरण गर्ने भएको हो । 

    नेपाल सरकारको पन्ध्रौँ योजनाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण कार्यक्रमको अवधारण ल्याएको थियो । सरकारले रुपान्तरणकारी योजनाको रुपमा अगाडि सारेको कार्यक्रमलाई पर्याप्त श्रोतको व्यवस्था गरिसकेको छ । तर पनि नागरिकका विवरण संकलनमा उल्लेख्य हुन सकिरहेको छैन ।

    अहिलेसम्म विभागले देशैभरीबाट ३५ लाख नागरीकको विवरण संकलन गरेको छ । अघिल्लो वर्ष ३० लाख नागरिकको विवरण संकलन गरेको विभागले असार यता ५ लाख विवरण संकलन भएको जनाएको छ । 

    पर्याप्त मात्रामा विवरण संकलन हुन नसक्नुमा कोभिड–१९ले पारेको प्रभाव रहेको विभागले जनाएको छ । नागरिकसँगको प्रत्यक्ष संलग्नतामा विवरण संकलन गर्नुपर्ने हुँदा महामारीले प्रभाव पारेको छ । विवरण संकलन गर्दा विभागले नागरिकको औँठाछाप, आँखाको नानीको आइरिस स्क्यान गर्ने गरेको छ । 

    विभागले यो वर्ष १ करोड नागरीकको विवरण संकलन गर्ने तयारीका साथ काम गरिरहेको उनले बताए । कोभिड –१९ ले असर नगरेको भए हालसम्म सम्पुर्ण विवरणहरु संकलन भईसक्ने विभागले जनाएको छ । विवरण संकलनको लागि औँठाको छाप लिनुपर्ने, आँखाको नानिको स्क्यान लिनुपर्ने हुँदा असर गरेको बस्नेतले बताए । 

    कसरी भर्ने विवरण ?

    आयोगले नागरिकको विवरण दुइ तरिकाले संकलन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने नागरिकको विवरण त्यहि संकलन गर्ने । दोस्रो १७ ओटा इलाका प्रशासन कार्यालय, पञ्जीकरण विभाग र राहदानी विभाग बाट विवरणहरु संकलन गर्ने । 

    नागरिकले नागरिकताको आधारमा विभागले तोकेको जुनसुकै स्थानबाट विवरण दिन सक्ने विभागका महाप्रबन्धक जितेन्द्र बस्नेतले बताए । विवरण भर्दा सक्कल कागजातहरु पेश गर्नुपर्ने उनले बताए । 

    अहिले बन्ने कार्डमा नयाँ प्रविधि प्रयोग गरिने भएकोले नागरिकले भरेका विवरणहरु सम्बन्धित निकायले स्क्यान गर्न सक्नेछन् । नागरिकतामा भएका विवरणहरु फरक भएका छन् भने त्यसलाई परिमार्जित गरेर विवरण भर्न आयोगले आग्रह गरेको छ । 

    सम्पुर्ण कागजातहरु सक्कल भरेको खण्डमा परिचयपत्र बनेपछि कुनै पनि निकायमा जाँदा अन्य कागजात लिएर जानु नपर्ने बस्नेतले बताए । 

    विवरण संकलनको अवस्था

    अहिलेसम्म विभागले आफ्ना सबै स्टेसनबाट ३५ लाख नागरिकको विवरण संकलन गरेको जनाएको छ । प्रदेश नम्बर १ को विवरण संकलन लगभग सकिएको छ । विभागका अनुसार प्रदेश १ मा २ जिल्लाको मात्र विवरण भर्न बाँकि रहेको छ । समग्रमा १६ जिल्लाको विवरण संकलन गरेको विभागले जनाएको छ । 

    कोरोना महामारीको कारण विवरण संकलनको काम प्रभावित भएको भएपनि साउनदेखि सहज ठाउँहरुबाट संकलनको काम शुरु गरिएको विभागले जनाएको छ । अहिले भइरकेको संकलन केन्द्रबाट मात्र विवरण संकलन सहज नदेखिएकोले अभियान सञ्चालनको तयारीमा विभाग देखिएको छ । विभागले वडा तह देखि टोल टोलमा विवरण संकलनको लागि अभियान सञ्चालन गर्ने महाप्रवन्धक बस्नेतले् बताए । 

    अहिले विभागका १०६६ ओटा विवरण दर्ता स्टेशनबाट विवरण संकलन गरिरहेको छ । 

    पहिलो चरणमा ७० प्रतिशत मतदाताले पाउने

    ३५ लाख नागरिकको विवरण संकलन गरिसकेको विभागले कार्ड छपाईको काम मंसिरबाट शुरु गर्ने भएको छ । कार्ड खरिदको सम्झौता गरिसकेको विभागले चरणबद्ध रुपमा कार्ड ल्याउने भएको छ । कार्ड बाहिरबाट ल्याउने भएपनि त्यसको छपाई विभागलेनै गर्नेछ । 

    विभागले पहिलो चरणमो १ करोड २० लाख कार्ड ल्याउने तयारी गरेको छ । मंसिरको पहिलो हप्ताबाट कार्ड ल्याउने काम हुने र तत्कालै छपाइको काम पनि शुरु गर्ने बस्नेतले बताए । सम्झौता अनुसारको सबै कार्ड एकैपटक ल्याउँदा पनि विभाको तत्काल छाप्न क्षमता नभएकोले छपाइ क्षमता अनुसार कार्ड ल्याउने उनले बताए । 

    नयाँ बन्ने कार्डमा फण्ट साइज तथा क्यु आर कोड सहितको परिमिार्जन ऐनले गरेको विभागले जनाएको छ । यसअगाडिको डिजाइनमा क्यु आर कोडको व्यवस्था नभएको बस्नेतले बताए । 
    पहिलो चरणमा अघिल्लो वर्ष विवरण संकलन भएका नागरिकले परिचयपत्र पाउनेछन् । यो वर्ष ७० लाख विवरण संकलन गर्ने लक्ष्य राखेको विभागले आगामी वर्ष ७० लाख नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको छ । 

    पहिलो चरणमा मतदाता नामावली भएका ७० प्रतिशत नागरिकलाई कार्ड वितरण गर्ने विभागका महाप्रवन्धक बस्नेतले बताए । 


    दिलिप खड्का
    खड्का नेपालअर्थ डटकमका संवाददाता हुन् ।


    images

    Logo