काठमाडौं । स्वदेशी उद्योगको संरक्षण गर्न भन्दै सरकारले बढाएको अन्तशुल्क्रप्रति स्टिल उद्योगीहरुले असहमति जनाएका छन् । आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयकमार्फत सरकारले विदेशबाट आयात हुने बिलेटमा अन्तशुल्क बढाएको थियो ।
भारतबाट बिलेट ल्याएर नेपालमा डण्डी उत्पादन गर्दै गर्ने उद्योगीहरुले त्यसको विरोध गरेका हुन् । यो व्यवस्थाका कारण आफ्नै बिलेट उत्पादन गर्ने प्लान्ट नभएका करिब २ दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीले गुनासो गरेका छन् ।
स्टिल उद्योग संघ सोमबार आयोजना गरेको पत्रकार सम्मलेलनमा पञ्चकन्या स्टिलमा अध्यक्ष प्रदीपकुमार श्रेष्ठले यो निर्णयले नेपालको स्टिल उद्योग धरासायी भएको बताउँदै सरकारले केही व्यवसायीको हित गर्नका लागि दर्जनौं कम्पनीको लगानी डुब्ने अवस्थामा पुगेको उल्लेख गरे ।
उनले नेपालमा उत्पादन हुने बिलेटको गुणस्तरमा समेत प्रश्न रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, शाख स्टीलका किरणकुमार शाख लगायत अन्य उद्योगीहरु सहभागी थिए ।


