काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर साढे १० प्रतिशत भन्दा माथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले १०.५२ प्रतिशतसम्म ब्याजदर दिन सक्नेगरी ब्याजदर तालिका सार्वजनिक गरेका हुन् ।
कोरोनाभाइरस महामारी अन्त्य हुने संकेत देखिएसँगै व्यवसायिक क्षेत्रको गतिविधि बढ्नु र चाडवाड केन्द्रित आयात समेत बढ्दा बैंकमा कर्जाको माग बढ्दै गएको छ । यही मागलाई धान्न बैंक तथा वित्तीय संस्था निक्षेप संकलन बढाउनुपर्ने दबाबमा छन् । यसका लागि उनीहरुले ब्याजदर प्रतिस्पर्धा सुरु गरेका हुन् ।
सनराइज बैंकले अहिले वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी ब्याजदर अफर गरेको छ । बैंकले मुद्दति खातामा दोहोरो अंकमा ब्याजदर प्रस्ताव गरेको छ । बैंकले एक वर्षे मुद्दति निक्षेपमा १०.०७ प्रतिशतसम्म ब्याज दिनसक्ने जनाएको छ । यो ब्याजदरमा शाखा प्रमुखले ०.५० प्रतिशतसम्म ब्याजदर वृद्धि गर्नसक्ने भएकोले यो दर १०.५७ प्रतिशत पुग्नेछ ।
सनराइजपछि सबैभन्दा धेरै ब्याजदर अफर गरेको सेञ्चुरी बैंकले एक वर्षे व्यक्तिगत निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । शाखा प्रबन्धकको निर्णयमा यो ब्याजदर पनि ९.७५ प्रतिशत पुग्न सक्नेछ ।
एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.०२ प्रतिशत दिनेगरी नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ । संस्थागत मुद्दतिमा अधिकतम एनएमबिले ९.५२ प्रतिशत ब्याजदर दिनसक्ने जनाएको छ ।
सानिमा बैंकले साधारण मुद्दति निक्षेपमा ९.०१ प्रतिशत ब्याज दिने जनाएको छ । रेमिट्यान्सबाट आउने मुद्दति निक्षेपका हकमा भने १०.०१ प्रतिशतसम्मको दर अफर गरिएको छ ।
उता, नबिल बैंकले पनि संस्थागत निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर अफर गरेको छ । व्यक्तिगत निक्षेपमा ८.७६ प्रतिशत ब्याज दिने जनाएको छ ।
बिहीबारसम्म नयाँ ब्याजदर सूची सार्वजनिक गरेकामध्ये अधिकांश बैंक भने अहिले व्यक्तिगत मुद्दति निक्षेपमा ८ देखि ९ प्रतिशत ब्याजदरको अफर गरेका छन् । शाखा प्रबन्धकलाई दिइएको ०.५ प्रतिशत बढाउने सुविधा अनुसार यो दर ९ प्रतिशत भन्दा माथि नै हुन आउँछ ।


