images
images

सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, आन्तरिक र बाह्यतर्फ कति ?


  • 322
    SHARES
  • २०८१ आषाढ ७ गते शुक्रबार

    सार्वजनिक ऋण २४ खर्बभन्दा बढी, आन्तरिक र बाह्यतर्फ कति ?

    काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ र बाह्यतर्फ १२ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । 

    चालु आर्थिक बर्षको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण२२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ बराबर थियो । चालु आवको ११ महिनामा मात्र १ खर्ब ९९ करोड रुपैयाँ बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ र बाह्य ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत छ । 

    बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई १० खर्ब ७१ अर्ब ११ करोड रुपैयाँ र द्विपक्षीय ऋणदातालाई १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँ बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी ७ खर्ब ६४ अर्ब ९४ करोड रुपैयाँ बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व ४ खर्ब १२ अर्ब ६९ करोड रुपैयाँ, नागरिक बचतपत्रको दायित्व १० अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक रोजगारी बचतपत्रको दायित्व १७ करोड  रुपैयाँ र आईएमएफ बण्डको दायित्व ३ अर्ब ९१ करोड रुपैयाँ बराबर छ ।

    चालु आर्थिक वर्षका लागि सरकारले कुल ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण २  खर्ब ४० अर्ब रुपैयाँ र बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ २ खर्ब २५ अर्ब रुपैयाँ र बाह्यतर्फ ८२ अर्ब ६७ करोड रुपैयाँ बराबर ऋण उठाइसकेको छ । 

    वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७ दशमलव ९६ प्रतिशत बराबर हो । आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३ दशमलव ७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

    चालु आर्थिक बर्षभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ १५ अर्ब रुपैयाँ र बाह्यतर्फ १ खर्ब ३० अर्ब सात करोड रुपैयाँ गरी कुल १ खर्ब ४५ अर्ब रुपैयाँ बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिए । 

    चालु आर्थिक बर्षमा सरकारी ऋणको साँवा तिर्न २ खर्ब २५ अर्ब १७ करोड रुपैयाँ र ब्याज तिर्न १ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ बराबर विनियोजन भएको थियो । जसमध्ये चालु आवको १० महिनामा साँवातर्फ १ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ अर्थात् विनियोजित बजेटको ८७ दशमलव ८३ प्रतिशत र बाह्यतर्फ ३१ अर्ब ५२ करोड रुपैयाँ अर्थात् ७० दशमलव नौ प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

    चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी २ खर्ब २७ अर्ब २० करोड रुपैयाँ र बाह्य ऋणको साँवा ब्याजमा ४३ अर्ब ९९ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

     


    images

    Logo