काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मुल्य बजार सञ्चालनको एघार दिनभित्र ३ सय सत्तरी क्वीन्टल चामल बिक्री गरेको छ ।
असोज १ गतेदेखि शुरु भएकाे सुपथ मूल्य बजारबाट ११ गतेसम्ममा ३ सय ६९ दशमलव ५७ क्वीन्टल चामल बिक्री भएको खाद्य कम्पनीको सुचना अधिकारी समिला न्यौपानेले बताइन् ।
न्यौपानेका अनुसार हालसम्म स्टिम जीरा मसिनो चामल उपत्यकामा सर्बाधिक बिक्री भएको छ । उपभोक्ताले एघार गतेभित्र नै करिव १ सय पन्ध्र क्वीन्टल जीरा मसिनो चामल खरिद गरिसकेका छन् । त्यस्तै १ सय क्वीन्टल दलहन समेत सुपथ मूल्य पसलबाट खपत भैसकेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनले दशैँ, तिहार र छठलाई मध्यनजर गरी दैनिक उपभोाग्य सामानको सुलभ मूल्य पसल असोज एक गतेदेखि सञ्चालनमा ल्याएको हो ।
सुपथ मूल्य पसलमा उपभोक्ताको चहलपहल कम
साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी राजकुमार भण्डारीले पसल सञ्चालन भएको दुई हप्ता हुँदा पनि उपभोक्ताको चहलपहल अघिल्लो वर्षहरुको तुलनामा कम रहेको बताए ।
"अघिल्ला वर्षहरुका तुलनामा चहलपहल कम नै देखिन्छ, प्राय शुरुशुरुमा कम नै हुन्छ र विस्तारै बढ्दै जान्छ", भण्डारीले भने ।
उनका अनुसार ११ गतेसम्म साल्ट ट्रेडिङ कम्पनीले करिब २५ टन नुन र २१ टन चिनी बिक्री गरिसकेको छ । अरु सामानकाे तथ्याङ्क भने संकलन हुने क्रममा रहेकाे भण्डारीले जानाकारी दिए ।
यद्यपी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेकाे सुपथ मूल्य पसलमा भने उपभोक्ताको चहलपहल उत्साहजनक नै रहेको न्यौपानेले बताइन् ।


सुजिता सापकोटा
