images
images

१२ जिल्लामा गुणस्तर विभागको अनुगमन, १०५ वस्तु नमुना परीक्षणमा


  • 523
    SHARES
  • २०७८ आश्विन १३ गते बुधबार

    १२ जिल्लामा गुणस्तर विभागको अनुगमन, १०५ वस्तु नमुना परीक्षणमा

    काठमाडौं । साढे २ महिनामा गुणस्तर तथा नापतौल विभागले बजारबाट १ सय ५ बस्तुको नमुना संकलन गरेको छ । चालु आर्थिैक वर्षको साउनदेखि असोज ११ गतेसम्म भएका बजार अनुगमनमा विभागले गुणस्तर परीक्षणका लागि उक्त परिमाणमा नमुना संकलन गरेको हो ।

    यो अवधिमा विभागले विभिन्न प्रदेशका १२ जिल्ला तथा स्थानहरुमामा बजार अनुगमन गरेको जनाएको छ । त्यसरी अनुगमन गरिएका जिल्लाहरुमा झापा, मोरङ, धनुषा, बारा, चितवन, नवलपरासी कपिलवस्तु, काठमाडौं, धादिङ, कास्की रहेका छन् । परीक्षणका लागि संकलन गरिएका वस्तुहरुमा सिमेन्ट, पीभीसी केबल, एलपी ग्यास सिलिन्डर, रेगुलेटर, पेन्ट, खाने तेल, मसला, मैदा, बिस्कुट लगायत निर्माणजन्य सामाग्री तथा दैनिक उपभोग्य वस्तुहरु छन् । 

    विभागले प्रत्येक वर्ष बजारमै गएर बस्तुहरुको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्छ । बजारबाट उठाइएका वस्तुहरु विभागको प्रयोगशालामा परीक्षण हुन्छ । परीक्षण्को क्रममा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको सामान भेटिए बजारबाट सामान फिर्ता लैजान निर्देशन दिने तथा त्यसरी सामान बिक्री गर्नेविरुद्ध मुद्दा चलाउने काम समेत विभागले गर्दै आएको छ । 

    विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कोरोना महामारी अन्त्य भएर बजार सहज रुपमा सञ्चालन हुँदै जाँदा आफूहरुले पनि अनुगमनलाई तीव्रता दिएको जानकारी दिए । अघिल्लो वर्ष कोरोना महामारीका कारण अनुगमन नगरेको विभागले यो वर्ष भने यो कार्यलाई तीव्रता दिने जनाएको छ । 

    विभाग अन्तर्गत विभिन्न जिल्लामा ११ वटा कार्यालय सञ्चालनमा छन् । ती कार्यालयमा रहेका संयन्त्रमार्फत् अनुगमन गर्ने गरिएको महानिर्देशक पुडासैनीले जानकारी दिए । 


    images

    Logo