परासी । सीमा नाकामा हुने तस्करीमा प्रशासन र प्रहरीले नियन्त्रण गर्न थालेपछि नवलपरासीका व्यवसायीहरु संगठित रुपमै यसको विरोधमा उत्रिन थालेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा भारतीय भूमिबाट अवैध रुपमा हुने केराउ, चिनी लगायतका सामानको तस्करीमा कडाई गरिएपछि उद्योग वाणिज्य संघ नै तस्करी गर्न पाउनुपर्ने माग गर्न थालेको हो ।
आइतबार उद्योग वाणिज्य संघ परासीका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई भेटेर सीमानाकामा भइरहेको कडाइको विरोध गरेका हुन् । मिश्रले भने तस्करी रोक्न व्यवसायीले सघाउनुपर्नेमा उल्टै तस्करीमा सहयोग गर्नतर्फ लागेको भन्दै आफूहरु तस्करी नियन्त्रणको अभियानबाट पछि नहट्ने बताए ।
सीडीओ र एसपी मिल्दा तस्करीमा नियन्त्रण
अहिले नवलपरासी सुस्ता पश्चिममा दिनहुँजसो तस्करी गरिएका सामानहरु बरामद हुन थालेका छन् । तस्करी नियन्त्रण गरेरै छाड्ने सीडीओ मिश्रको अठोट र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार यादवको सहयोगले यो सफलता प्राप्त भएको हो । सक्रियतापछि व्यवसायीबाट हुँदै आएको तस्करी नियन्त्रणमा ल्याउन सफल भएको एससपी यादवले बताए ।

उखु किसानको भुक्तानीमा अझै समस्या
अघिल्लो वर्ष उखु किसानको बक्यौताको विषय निकै पेचिलो बन्यो । किसानहरु आन्दोलनमा उत्रिएपछि त्यतिबेला प्रशासन र प्रहरीले हस्तक्षेप गरेर भुक्तानी दिलाएको थियो । तर, अझै पनि पूर्ण रुपमा भुक्तानी हुन सकेको छैन ।
अहिले परासीमा मात्रै ३ वटा उद्योग सञ्चालनमा छन् । इन्दिरा सुगर मिल, लुम्बिनी सुगर मिल र बाग्मती सुगर मिलबाट अझै पनि करोडौं भुक्तानी बाँकी छ । राकेश अग्रवालको इन्दिरा सुगर मिलको मात्रै झण्डै १ करोड ६० लाख रूपैयाँ बक्यौता रहेको सीडीओ मिश्रले बताए ।


