काठमाडौं । दुई वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । बोनस शेयर नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो । माछापुच्छ्रे बैंक लिमिटेड र स्यार्पू पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो ।
स्यार्पू पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा कात्तिक १५ गते सोमबार बिहान ११ बजे देखि समन्वय समितिको सभाहल काठमाडौंमा बस्दैछ । असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औं साधारणसभा गर्न लागेको हो ।
साथै उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे आर्थिक प्रतिवेदन प्रस्तुति छलफल तथा लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७/०७८ नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह र इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरण छलफल र स्वीकृत गर्ने छ ।
माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा कात्तिक २६ गते शुक्रबार बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा भर्चुअल माध्यमबाट बस्दैछ ।असोज २० गते बसेको सञ्चालक समितिको ४५२ औं बैठकले बैंकको २३औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
सो साधारणसभामा बैंकले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३.३० प्रतिशत अर्थात १ अर्ब २० करोड ४० लाख ६१ हजार रुपैयाँ बोनस शेयर र ०.७० प्रतिशत अर्थात ६ करोड ३३ लाख ७१ हजार कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
साथै माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न तथा मर्जरसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सो साधारण सभाका लागि बैंकले कात्तिक ७ गते एकदिन लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार कात्तिक ६ गतेसम्म कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागी हुन र बैंकले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


