काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुले झन्डै ३८ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । असोज २२ गतेसम्मको विवरणमा आधारित तथ्यांकले बैंकरुले असोज १५ भन्दा ३७ अर्ब ६८ करोड रुपैयाँले निक्षेप बढाएको देखिएको छ । योसँगै वाणिज्य बैंकको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।
एक साताको अवधिमा बैंकहरुले झन्डै ४१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । बैंकहरुले ४१ अर्ब ५ करोड नयाँ कर्जा प्रवाह गर्दा कुल कर्जा प्रवाह ३९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।
दशैंका लागि विदेश आउने रेमिट्यान्स बढेसँगै पछिल्लो एक सातामै बैंकहरुको निक्षेप बढ्न सफल भएको हो । तरलता अभावका कारण स्वीकृत नभएर बसेका फाइलहरु निक्षेप बढेपछि बैंकहरुले धमाधम स्वीकृत गर्दा कर्जा विस्तार समेत उच्च रहेको देखिएको छ ।
प्रणालीमा तरलताको अभाव भइरहेको बेला एकै साता वृद्धि भएको यो निक्षेपले बैंकरहरु उत्साहित भएका छन् । यसका बाबजुद पनि कात्तिकमा ब्याजदर नबढाइ बस्न भने मुस्किल नै रहेको बैंकरहरु बताउँछन् ।


