काठमाडौं । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेशन सञ्चालनमा आएको छ । मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेशनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।
तनहुँस्थिति तल्लो मर्स्याङदी विद्युतगृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइनेछ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत लिनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको बेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए । ‘अन्य समयमा मर्स्याङदी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैंको बेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने । अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत जडान गर्न सक्नेछ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार, स्वीचिङ स्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन् । ‘स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरिनेछ’, उनले भने, ‘यसबाट त्यस क्षेत्रको विद्युत आपूर्तिसमेत विश्वसनीय हुनेछ ।’

नेपाली साझेदारसहित चिनियाँ लगानीमा सञ्चालनमा आउन लागेको हुवासिन सिमेन्ट नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । यो उद्योगले दैनिक ६० हजार बोरासम्म सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता राख्छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको उद्योग ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ । विद्युत आपूर्ति भएसँगै तत्कालै परीक्षण उत्पादन थाल्ने उद्योगको तयारी छ ।


