images
images

आईओसीले फेरि बढायो इन्धनको मूल्य, निगमको मासिक नोक्सान साढे ४ अर्ब, कुनमा कति बढ्यो ?


  • 912
    SHARES
  • २०७८ आश्विन ३१ गते आइतबार

    आईओसीले फेरि बढायो इन्धनको मूल्य, निगमको मासिक नोक्सान साढे ४ अर्ब, कुनमा कति बढ्यो ?

    काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले इन्धनको मूल्य फेरि बढाएको छ । निगमलाई शनिबार नयाँ मूल्यसुची पठाउँदै आईओसीले प्रतिलिटर पेट्रोलमा ५.७७ रुपैयाँ, डिजेलमा ७.०९ रुपैयाँ र हवाइ इन्धनमा ७.०९ रुपैयाँ मूल्य बढाएको हो । योसँगै निगमले आईओसीलाई तिर्ने मूल्य प्रतिलिटर पेट्रोलमा ७६.०७ रुपैयाँ, डिजेलमा ७८.२८ रुपैयाँ, हवाइ इन्धनमा ७३.२४ रुपैयाँ, कट्टितेलमा ६६.१५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार ३ सय ७५.०२ रुपैयाँ पुगेको छ । 

    आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १४५।०१ रुपैयाँ, डिजेलमा १२७.५६ रुपैयाँ, मट्टितेलमा ९३.४१ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ९०.५६ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ८०.४९ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १ हजार ९ सय ६१.८८ लागत पर्ने देखिएको छ । 

    निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रु १३०, डिजेल र मट्टितेलको रु ११३, आन्तरिक हवाई इन्धनको ८६ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ । उल्लेखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा १५.०१ रुपैयाँ नोक्सान, डिजेलमा १४.१६ रुपैयाँ नोक्सान, मट्टितेलमा १९.५९ रुपैयाँ नाफा, आन्तरिक हवाई इन्धनमा ५.५६ रुपैयाँ नोक्सान, बाह्य हवाई इन्धनमा १०.३७ रुपैयाँ नाफा र खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सानको अवस्था छ । 

    निगमलाई नाफा भएका मट्टितेल तथा हवाई इन्धनको माग तुलनात्मकरुपमा कम रहेको र नोक्सानीका अवस्थामा रहेको पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा बिक्री गर्दा निगमलाई १५ दिनमा मात्रै २ अर्ब २२ करोड ६ लाख नोक्सान हुने प्रक्षेपण गरिएको छ । यही मूल्य कायम रहँदा निगम एक महिनामै झन्डै साढे ४ अर्ब नोक्सानको अवस्थामा पुग्छ । 

    अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलको हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै त्यसले निगमको घाटा वृद्धि भएको हो । २ साता अघि पनि आईओसीले निगमलाई मूल्य बढाएर पठाएको थियो । त्यतिबेला निगमलाई मासिक ३ अर्ब नोक्सानको प्रक्षेपण गरिएको थियो । यसपटक मूल्य बढेर आउँदा थप नोक्सानीको अवस्था देखिएको हो । 


    images

    Logo