काठमाडौं । सञ्चालनमा रहेका अधिकांश बैंकले कात्तिक महिनाको लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ त्रैमास सुरु भएसँगै बैंकहरुले यसअघि दिँदै आएको ब्याजदरमा परिमार्जन गरेका हुन् ।
नयाँ तालिका अनुसार धेरै बैंकले बचत तथा मुद्दती खाताको ब्याजदर बढाएका छन् । केही बैंकले ब्याजदर घटाउँदा केही बैंकको ब्याजदर भने यथावत रहेको देखिएको छ ।
कुन बैंकको कस्तो अवस्था ?
माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले बचत खातामा ५ प्रतिशत र व्यक्तिगत मुद्दती खातामा ९.५ प्रतिशत ब्याजदर तोकेको छ । संस्थागत मुद्दतीमा भने ९.८५ प्रतिशतसम्म ब्याज दिने जनाइएको छ । यसअघि सो बैंकले बचत खातामा ३.७५ प्रतिशत र मुद्दती खातामा ८.५० प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । संस्थागत मुद्दतीको ब्याजदर पनि ८.५० प्रतिशत नै तोकिएको थियो ।
सनराइज बैंक : अघिल्लो महिना सर्वाािधक ब्याजदर दिने बैंकको रुपमा रहेको सनराइज बैंकले यसपटक ब्याजदर घटाएको छ । बैंकले बचत खातामा ५.०७ प्रतिशत र व्यक्तिगत मुद्दती खातामा ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । संस्थागत मुद्दतीमा भने ८.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । यसअघि सो बैंकले बचत खातामा ५.०७ प्रतिशत र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा १०.०७ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो ।
सिद्धार्थ बैंक : सिद्धार्थ बैंकले बचत खातामा ५.३० प्रतिशत र व्यक्तिगत मुद्दती खातामा १०.३० प्रतिशतसम्म ब्याजदर तोकेको छ । संस्थागत मुद्दतीमा पनि १०.३० प्रतिशत ब्याजदर कायम गरिएको छ । यसअघि सो बैंकले बचत खातामा ४.०५ प्रतिशत र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ८.७५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो ।
ग्लोबल आईएमई बैंक : ग्लोबल आईएमई बैंकले बचत खातामा ४.५० प्रतिशत र व्यक्तिगत मुद्दती खातामा ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । संस्थागत मुद्दतीमा पनि ९.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । यो ब्याजदर अघिल्लो महिना बराबरकै हो । यसपटक ग्लोबल आईएमईले ब्याजदर परिवर्तन गरेको छैन ।
नेपाल एसबीआई बैंक : नेपाल एसबीआई बैंकले बचत खातामा ४.५६ प्रतिशत र एक वर्षे व्यक्तिगत तथा संस्थागत मुद्दती खातामा ८.७६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि सो बैंकले बचत खातामा ३.५५ प्रतिशत र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा क्रमशः ८.०० प्रतिशत र ८.०५ प्रतिशत ब्याज दिँदै आएको थियो ।
एनसीसी बैंक : एनसीसी बैंकले बचत खातामा ५.५५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा १०.५५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि सो बैंकले बचत खातामा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । एकवर्षे व्यक्तिगत मुद्दतीमा ८.७५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.२६ प्रतिशत ब्याज तोकेको थियो ।
सेञ्चुरी कमर्शियल बैंक : सेञ्चुरी बैंकले बचत खातामा ५.२५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ९.७५ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि सो बैंकले बचत खातामा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । एकवर्षे व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ९.२५ प्रतिशत ब्याज तोकेको थियो ।
लक्ष्मी बैंक : लक्ष्मी बैंकले बचत खातामा ६.०५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एक वर्षे व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ११.०५ प्रतिशत तोकेको छ । यसअघि सो बैंकले बचत खातामा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । एकवर्षे व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ८.५ प्रतिशत ब्याज तोकेको थियो ।
नेपाल बंगलादेश बैंक : नेपाल बंगलादेश बैंकले बचत खातामा ५.२८ प्रतिशत ब्याजदर तोकेको छ । ६ महिनाभन्दा बढी अवधिको व्यक्तिगत तथा संस्थागत मुद्दती खातामा १०.२८ प्रतिशत ब्याजदर दिने जनाइएको छ । यसअघि सो बैंकले बचत खातामा ३.७६ प्रतिशतदेखि ४.७६ प्रतिशतसम्म र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ८.७६ प्रतिशत ब्याज दिँदै आएको थियो ।
एनआईशी एशिया बैंक : एनआईशी एशिया बैंकले बचत खाताको ब्याजदर ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म तोकेको छ । १ वर्ष वा सोभन्दा लामो अवधिको व्यक्तिगत तथा संस्थागत मुद्दती खातामा ११.१० प्रतिशत ब्याजदर दिने जनाइएको छ । यसअघि सो बैंकले सबै प्रकारका बचत खातामा ३.६० प्रतिशत र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ८.६० प्रतिशत ब्याज दिँदै आएको थियो ।
एभरेष्ट बैंक : एभरेष्ट बैंकले बचत खाताको ब्याजदर ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म तोकेको छ । मुद्दती खाताको ब्याजदर ८ प्रतिशत तोकिएको छ । बोलकबोल प्रयोजनको लागि भने ८.६१ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यसअघि पनि बैंकले सोही बराबर ब्याज दिँदै आएको थियो । यसपटक एभरेष्ट बैंकले ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन ।
मेगा बैंक : मेगा बैंकले बचत खाताको ब्याजदर ४.२७ प्रतिशतदेखि ५.७७ प्रतिशतसम्म तोकेको छ । मुद्दती खाताको ब्याजदर व्यक्तिगततर्फ ८.७७ प्रतिशत र संस्थागततर्फ ९.२७ प्रतिशत तोकिएको छ । यसअघि सो बैंकले बचत खातामा २.२५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ७.२५ प्रतिशत ब्याज दिँदै आएको थियो ।
सिटिजन्स बैंक : सिटिजन्स बैंकले बचत खाताको ब्याजदर ४.७६ प्रतिशतदेखि ५.०६ प्रतिशतसम्म तोकेको छ । मुद्दती खाताको ब्याजदर ९.७६ प्रतिशत तोकिएको छ । यसअघि सो बैंकले बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याज दिँदै आएको थियो ।
सिभिल बैंक : सिभिल बैंकले बचत खाताको ब्याजदर ५.६१ प्रतिशतदेखि ६.५१ प्रतिशतसम्म तोकेको छ । एक वर्षेमुद्दती खाताको ब्याजदर व्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागततर्फ १०.६१ प्रतिशत ब्याजदर तोकिएको छ । यसअघि सो बैंकले बचत खातामा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म र एकवर्षे व्यक्तिगत निक्षेपमा ९.२५ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ८.५५ प्रतिशत ब्याज दिँदै आएको थियो ।
नबिल बैंक : नबिल बैंकले बचत खाताको ब्याजदर ४.२६ प्रतिशतदेखि ६.२६ प्रतिशतसम्म तोकेको छ । एक वर्षेमुद्दती खाताको ब्याजदर व्यक्तिगततर्फ ८.७६ प्रतिशत र संस्थागततर्फ ९.२६ प्रतिशत ब्याजदर तोकिएको छ । नबिल बैंकले यसपटक व्यक्तिगत निक्षेपको ब्याजदरमा परिवर्तन गरेको छैन । संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने यसअघि ९.०१ प्रतिशत रहेकोमा यसलाई ०.२५ प्रतिशत विन्दुले बढाएको छ ।
एनएमबि बैंक : एनएमबि बैंकले बचत खाताको ब्याजदर ४.५७ प्रतिशतदेखि ६.५७ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत तथा संस्थागत मुद्दती खाताको ब्याजदर ९.५७ प्रतिशतसम्म कायम गरिएको छ । सो बैंकले बचत खाताको ब्याजदर ०.०५ प्रतिशत विन्दुले बढाएको छ भने मुद्दती निक्षेपको ब्याजदर ०.५५ प्रतिशत विन्दुले बढाएको छ ।
कुमारी बैंक : कुमारी बैंकले बचत खातामा ५.३१ प्रतिशतदेखि ७.३१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा ९.८१ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा १०.३१ प्रतिशतसम्म कायम गरिएको छ । यसअघि सो बैंकले बचत खातामा ३.१५ प्रतिशतदेखि ५.१५ प्रतिशतसम्म र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ८.१५ प्रतिशत ब्याज दिँदै आएको थियो ।
बैंक अफ काठमाण्डू : बैंक अफ काठमाण्डूले बचत खातामा ५.०७ प्रतिशतदेखि ६.६७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ९.५७ प्रतिशत तोक्दा बोलबकोल प्रयोजनको लागि १०.०७ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । यसअघि सो बैंकले बचत खातामा ३.७७ प्रतिशतदेखि ५.२७ प्रतिशतसम्म र व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ८.२७ प्रतिशत ब्याज दिँदै आएको थियो । बोलबकोल प्रयोजनको लागि यसअघि ८.७७ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।
प्राइम कमर्शियल बैंक : प्राइम बैंकले बचत खाताहरुमा ४.७६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ९.७५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.७६ प्रतिशतसम्म कायम गरिएको छ । बैंकले यससअघि पनि बचत खातामा ४.७६ ब्याज तोकेको थियो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर समेत यथावत राख्दा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५० प्रतिशत विन्दुले बढाएको छ ।
कृषि विकास बैंक : कृषि विकास बैंकले साधारण बचत खाताको ब्याजदरलाई ३.५० प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर हालसम्म ७.२५ प्रतिशत रहेकोमा एकैपटक १.७५ प्रतिशत विन्दुले बढाएर ९ प्रतिशत पुर्याएको छ । साधारण बचत खाताको ब्याजदर बढाए पनि यसअघि नै उच्च ब्याजदर भएका विशेष बचत खाताको ब्याजदरलाई भने बैंकले यथावत नै राखेको छ ।
नेपाल बैंक : नेपाल बैंकले बचत खाताको ब्याजदरलाई यथावत राखेर मुद्दती खातको ब्याजदर बढाएको छ । यअसघि साधारण बचत खातामा दिँदै आएको ३.०५ प्रतिशतको वार्षिक ब्याजदरलाई बैंकले यथावत राखेको हो । विशेष बचत खाताको ब्याजदरलाई पनि अधिकतम ४.५५ प्रतिशतमा थयावत राखिएको छ । एक वर्षे मुद्दती निक्षेपमा भने बैंकले यसअघि ८.०५ प्रतिशत ब्याज दिँदै आएकोमा यसलाई १ प्रतिशत विन्दुले बढाएर ९.०५ प्रतिशत पुर्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंक : राष्ट्रिय वाणिज्य बैंकले साधारण बचत खातामा ०.४९ प्रतिशत विन्दुले ब्याजदर बढाएर ३.५५ प्रतिशत पुर्याएको छ भने विशेष बचत खातामा ०.०५ प्रतिशतले ब्याजदर बढाएर ५.०५ प्रतिशत पुर्याएको छ । मुद्दती निक्षेपतर्फ बैंकले साधारण निक्षेपको ब्याजदर ६ प्रतिशतमा यथावत राखे पनि विशेष मुद्दती खाताको ब्याजदर ८.५५ प्रतिशत पुर्याएको छ । संस्थागत मुद्दती खाताको ब्याजदर ८.२५ प्रतिशत पुर्याइएको छ ।
सानिमा बैंक : सानिमा बैंकले भने बचत र मुद्दती दुवै निक्षेपको ब्याजदर घटाएको छ । बचत खातामा यसअघि ५ प्रतिशत रहेको ब्याजदर घटाएर ४ प्रतिशतमा झारिएको हो । त्यस्तै, ३ महिनादेखि ६ महिनासम्म अवधिको मुद्दती खातामा बैंकले यसअघि दिँदै आएको ७ प्रतिशत ब्याजदरलाई घटाएर ६ प्रतिशतमा झारेको हो । ६ महिनाभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर पनि १ प्रतिशत विन्दुले घटाएर ८.०१ प्रतिशत विन्दुमा सीमित राखिएको छ । संस्थागत मुद्दती निक्षेपमा अघिल्लो ९.५१ प्रतिशतसम्म ब्याज दिँदै आएकोमा यसलाई घटाएर ८.५१ प्रतिशत विन्दुमा झारिएको छ ।
प्रभु बैंक : प्रभु बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले साधारण बचत खातामा ३.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । एक वर्षे व्यक्तिगत तथा संस्थागत निक्षेपमा यसअघि दिँदै आएको ८.२५ प्रतिशतको दरलाई पनि बैंकले यथावत नै राखेको छ ।


