काठमाडौं। नेपाल बैंकर्स संघको साधारणसभा कात्तिक २३ गते हुने भएको छ । संघको आइतबार बसेको बैठकले उक्त दिन संघको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सो साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको चयन समेत गर्नेछ । संघमा ९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । त्यसमध्ये वरिष्ठ उपाध्यक्षसहित ३ जना सदस्य अघिल्लो वर्ष मात्रै निर्वाचित भएकोले अध्यक्ष र ५ जना सदस्य सहित जम्मा ६ जना मात्रै निर्वाचित गर्नेछ ।
अघिल्लो वर्ष वरिष्ठ उपाध्यक्षमा कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय र सदस्यहरुमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार डे निर्वाचित भएका थिए ।
संघमा वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालको अध्यक्ष बन्ने चलन रहे पनि अघिल्लो कार्यकालदेखि सो प्रचलन तोडिएको थियो । त्यसैले संघमा अबको अध्यक्ष को बन्छ भन्ने चासो सुरु भएको छ । यद्यपि अघिल्लो वर्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायलाई भावी अध्यक्षको रुपमै वरिष्ठ उपाध्यक्षमा ल्याइएकोले उनैलाई अध्यक्षको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।


