काठमाडौं । वाणिज्य बैंकले असोज महिनामा ९७ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । असोजदेखि ब्याजदर बढाएका बैंकले एक महिनाको अवधिमा उक्त बराबरको निक्षेप जुटाएका हुन् ।
भदौ अन्तिम मसान्तमा वाणिज्य बैंकहरुसँग ४१ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँ निक्षेप थियो । असोज मसान्तमा आइपुग्दा यस्तो निक्षेप ४२ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यो ९७ अर्ब ४३ करोडको वृद्धि हो । बैंकिङ क्षेत्रको समग्र निक्षेप बढ्दा २७ वाणिज्य बैंकमध्ये २१ बैंकको निक्षेप बढेको छ । बाँकी ६ बैंकको निक्षेप भने यो अवधिमा घटेको छ ।
यो अवधिमा निक्षेप बढाउन सनराइज बैंक सबैभन्दा बढी आक्रामक देखिएको छ । सो बैंकले एक महिनामा १९ अर्ब ६ करोड रुपैयाँ निक्षेप बढाएको छ । त्यस्तै, सानिमा बैंकले १० अर्ब ६७ करोड, प्राइम कमर्शियल बैंकले ९ अर्ब ७१ करोड, नेपाल बैंकले ७ अर्ब ७९ करोड, एभरेष्ट बैंकको ६ अर्ब ७७ करोड र एनसीसी बैंकले ६ अर्ब ४८ करोड रुपैयाँ निक्षेप बढाएका छन् ।
विगतमा निरन्तर रुपमा निक्षेप घटेको राष्ट्रिय वाणिज्य बैंकले पनि भदौ महिनमा झन्डै ६ अर्ब २५ करोड रुपैयाँ निक्षेप बढाएको छ । मेगा बैंकले पनि ५ अर्ब ३४ करोडले निक्षेप बढाउँदा अरु बैंकको निक्षेप वृद्धि ५ अर्ब भन्दा कम छ । कृषि विकास बैंक, सिटिजन्स बैंक, सिभिल बैंक एनआईशी एशिया बैंक, नेपाल एसबीआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप भने यो अवधिमा घटेको छ ।
भदौ महिनामा सनराइज बैंक र सानिमा बैंकले उच्च रुपमा ब्याजदर बढाएका थिए । सोही कारण ती बैंकमा निक्षेप ओइरिएको हो । अहिले ती दुवै बैंकले ब्याजदर घटाएका छन् ।



