काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन दिएको निर्देशन अनुसार सबै बैंक तथा वित्तीय संस्थाले बुधबार ब्याजदर घटाएका छन् । राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत भन्दा बढी ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्दै त्यो व्यवस्थाको कार्यान्वयन बुधबारभित्रै गरिसक्न निर्देशन दिएको थियो ।
निर्देशन अनुसार बैंकहरुले ब्याजदर घटाएर अधिकतम व्यक्तिगत मुद्दतीमा ९.३६ प्रतिशत र संस्थागत मुद्दतीमा ८.३६ प्रतिशत कायम गरेका छन् । वाणिज्य बैंकमध्ये १५ बैंकले यही ब्याजदर तोकेका छन् ।
त्यसरी अधिकतम ब्याजदर दिने बैंकहरुमा हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्शियल बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्शियल बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, कुमारी बैंक, एनआईशी एशिया बैंक, मेगा बैंक, सभिल बैंक र एनसीसी बैंक रहेका छन् ।
बाँकी ११ बैंकले भने अधिकतमभन्दा कम ब्याजदर तोकेका छन् । तीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले ९.३५ प्रतिशत, सनराइज र सानिमा बैंकले ९.०६ प्रतिशत, कृषि विकास बैंकले ८.८५ प्रतिशत, सिटिजन्स बैंक र नेपाल एसबीआई बैंकले ८.८ प्रतिशत, प्रभु बैंकले ८.५७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ८.३६ प्रतिशत ब्याजदर तोकेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ६.५ प्रतिशत ब्याजदरलाई यथावत राखेको छ ।


