काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा कर्मचारीले आम हड्ताल सुरु गरेका छन् । कर्मचारीहरुले लामो समयदेखि राख्दै आएका मागहरुको सुनुवाई नभएको उल्टो कर्मचारी युनियनका पदाधिधकारीहरुलाई बर्खास्त गर्ने प्रयास गरेको भन्दै कर्मचारीहरुले देशभरका कारोबार ठप्प पारेका हुन् । सोही कारण आइतबार स्वावलम्बन लघुवित्तको देशभरीका १ सय ४० शाखामा वित्तीय कारोबार सुचारु हुन सकेन ।
सो लघुवित्तको व्यवस्थापन र कर्मचारी युनियनहरुबीच गत माघ २८ गते १७ बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन लगायत विभिन्न माग राख्दै चैतदेखि नै व्यवस्थापनलाई दबाब दिँदै आएका लघुवित्तका कर्मचारीहरुले गत साउनदेखि कार्यालयमा धर्ना सुरु गरेका थिए । झन्डै ४३ दिनको शान्तिपूर्ण धर्ना बसेका उनीहरुले माग पूरा नभएपछि सीईओको रानीनामा माग्दै धर्ना तथा कार्यालय घेराउको कार्यक्रम अघि बढाउँदै आएका थिए ।
तर, पछिल्लो समय कर्मचारी हकहितको माग राख्दै आएका कर्मचारीलाई नै बर्खास्त गर्ने नियतले प्रष्टीकरण सोधिएपछि कर्मचारीहरुले कारोबार नै ठप्प पारेका छन् । स्वावलम्बनले आधिकारिक ट्रेड युनियनका ७ जना पदाधिकारीलाई शुक्रबार यस्तो पत्र काटेको थियो ।
लघुवित्तको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूर्णचन्द्रराज अवस्थीले कर्मचारी हकहितका लागि लड्दै आएका कर्मचारीलाई नै हटाउने नियत राखेर प्रष्टीकरण सोधिएपछि आफूहरु कारोबार ठप्प पार्ने अवस्थामा पुगेको बताए ।
उनले पत्र फिर्ता गर्ने र मागहरु पूरा नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने समेत बताए । उनले आफूले व्यवस्थापनसँग अरु केही माग नगरेको बरु यसअघि भएका सहमति कार्यान्वयनको माग मात्रै गरेको भन्दै आफैंले गरेको सहमति कार्यान्वयन गर्न समेत व्यवस्थापन तयार नभएको दाबी गरे ।
उता, संस्थाका प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडा भने लघुवित्तको कारोबार ठप्प नभएको दाबी गर्छन् । ‘संस्थाको कारोबार ठप्प भएको छैन, देशभरका सबै शाखाहरु सञ्चालन भइरहेका छन्,’ उनले भने ।
कर्मचारीको माग र बर्खास्ती प्रकरणबारे उनले केही बताउन चाहेनन् । कर्मचारी बर्खासत गर्न प्रष्टीकरण सोधिएको कुरा के हो भन्ने प्रश्नमा सीईओ खतिवडाले भने ‘संस्थामा अलिअलि समस्या आउनु स्वभाविक हो, यो ठीक भइहाल्छ ।’


