काठमाडौं । नबिल बैंकले तीन महिनामा १ अर्ब ११ करोड रुपैयाँ कमाएको छ । आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ७ करोड ६५ लाख (७.३९ प्रतिशत) ले बढी हो । बैंकले कमाएको यो नाफा प्रतिशेयर वार्षिक ३२.११ रुपैयाँ हो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६७ करोडले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । ब्याज आम्दानीको तुलनामा ब्याज खर्चमा वृद्धि भएपछि सोख बैंकको खुद ब्याज आम्दानीमा बढोत्तरी भएको हो । त्यस्तै, कमिशन तथा शुल्कसम्बन्धी आम्दानीमा समेत ९ करोड रुपैयाँले वृद्धि भएको छ ।
यो पटक बैंकले इम्पेरिमेन्ट चार्जबापत १७ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष यो शीर्षकमा रकम छुट्याउनु परेको थिएन । बैंकको निष्क्रिय कर्जा अनुपात बढ्दा यो शीर्षकमा गर्नुपर्ने प्रोभिजन बढेको हो । यसले बैंकको नाफा वृद्धिमा अवरोध गरेको छ ।
खर्चतर्फ बैंकको कर्मचारी खर्चमा उल्लेख्य वृद्धि हुँदा सञ्चालन खर्चमा भने मितव्ययिता देखिएको छ । ह्रासकट्टितर्फको खर्चमा समेत यसपटक कमी आएको छ ।
पहिलो त्रैमासको अन्त्यमा बैंकको पुँजीकोष अनुपात १३.५८ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.१३ प्रतिशत, कस्ट अफ फण्ड ५.१५ प्रतिशत, कर्जा निक्षेप (सीडी) अनुपात ८८.६४ प्रतिशत, आधारदर (बेसरेट) ६.११ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेडदर) ३.१८ प्रतिशत छ ।
बैंकले यो अवधिमा कमाएको कुल नाफामध्ये ८५ करोड १९ लाख रुपैयाँ शेयरधनीलाई बाँड्न मिल्ने अवस्थामा छ । यसपटक रेगुलटरी रिजर्भमा छुट्याउनुपर्ने रकमभन्दा फिर्ता आउने रकम बढी भए पनि अन्य रिजर्भहरुमा रकम छुट्याउँदा बैंकको वितरणयोग्य नाफामा चाप देखिएको हो ।


