काठमाडौं । २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । सञ्चालनमा रहेका २७ बैंकमध्ये ती बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । बाँकी ७ बैंकको भने विवरण प्रकाशित हुन बाँकी छ ।
हालसम्म विवरण प्रकाशित गरेका बैंकले यो अवधिमा १३ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ खुद आम्दानी गरेका छन् । यी बैंकहरुले अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका थियो । अघिल्लो वर्षको तुलनामा यो वर्षको वृद्धि २१.८८ प्रतिशत हो ।
हालसम्म विवरण प्रकाशित गरेका बैंकमध्ये ४ वटा बैंकले पहिलो त्रैमासमा १ अर्ब भन्दा धेरै नाफा कमाएका छन् । एनआईसी एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले १ अर्ब भन्दा बढी नाफा कमाएका हुन् । प्राइम कमर्शियल बैंक, सिद्धार्थ बैंक र मेगा बैंकको नाफा पनि ९० करोड रुपैयाँ भन्दा माथि रहेको छ ।
प्राइम बैंक अघिल्लो वर्ष अर्ब कमाउने वाणिज्य बैंक रहे पनि नाफा घट्दा यो सूचीबाट बाहिरिएको छ । अघिल्लो वर्ष ७३ करोड रुपैयाँ मात्रै नाफा रहेको एनएमबि बैंक भने ४२ प्रतिशतको नाफा वृद्धिसँगै यो सूचीमा उक्लिएको हो ।
२० बैंकमध्ये यो अवधिमा ४ वटा बैंकको नाफा घटेको छ । नेपाल बंगलादेश बैंक, प्रभु बैंक, कुमारी बैंक र प्राइम कमर्शियल बैंकको यो अवधिको नाफा घटेको हो । सबैभन्दा बढी नाफा नेपाल बंगलादेश बैंकको २७ प्रतिशतले घटेको छ । त्यस्तै प्रभु बैंकको २५ प्रतिशत, कुमारी बैंकको ११ प्रतिशत तथा प्राइम कमर्शियल बैंकको ४ प्रतिशत नाफा घटेको छ ।
यो अवधिमा सर्वाधिक नाफा वृद्धि गर्ने बैंकहरुमा भने सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, मेगा बैंक, एनएमबि बैंक लगयात बैंकहरु अगाडि छन् । सिद्धार्थले सर्वाधिक ९० प्रतिशत हाराहारीमा नाफा वृद्धि गरको छ । त्यस्तै, नेपाल एसबीआई बैंकको ८४ प्रतिशत, एभरेष्ट बैंकको ७३ प्रतिशत, माछापुच्छ्रे बैंकको ५६ प्रतिशत, सानिमा बैंकको ५२ प्रतिशत, मेगा बैंकको ५० प्रतिशत र एनएमबि बैंकको ४२ प्रतिशत नाफा बढेको छ ।


