काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल हायातको व्यवस्थापनमा नेपालमा दोस्रो होटल सञ्चालन हुने भएको छ ।
गोल्यान समूहले झन्डै ५ अर्ब रुपैयाँको लगानीमा कालीमाटीको रेडक्रस मार्गमा निर्माण गरेको उक्त होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । अहिले हायातकै व्यवस्थापनमा बौद्धको हायात रिजेन्सी होटल सञ्चालनमा छ । अमेरिकाको सिकागोको हायात कम्पनीको नाममा विश्वभर ३ सय ८५ होटलहरू सञ्चालनमा छन् ।
होटलको व्यवस्थापनको अध्यक्षमा शक्ति गोल्यान रहेका छन् । गोल्यान समूहका अध्यक्ष पवन गोल्यान होटलका सञ्चालक रहेका छन् । महाप्रबन्धकमा भने वरुण तलवार रहेका छन् । कोभिड महामारीका कारण क्षतिग्रस्त पर्यटन क्षेत्र रिभाइभ हुने विश्वाससहित होटल सञ्चालनमा ल्याएको गोल्यानले बताए ।
सो होटलमा १ सय ५३ कोठा रहेका छन् । होटलमा ३ सुइटहरू छन् भने बाँकी स्ट्याण्डर्ड रुमहरू छन् । यी मध्ये ७ ओटा टेरेस रुमहरू रहेका छन् । कोठा बाहिर टेरेसमा बार्बिक्यू गर्ने स्पेस समेत रहेको छ ।


