काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग रुपन्देहीको बुटवल उपमहानगरपालिकामा अवस्थित देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ ।
दुई वित्तीय संस्था गाभिएर मङ्गलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकै नाममा एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ र सदस्य संख्या ५२ हजार ४ सय १९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । संस्थामा ९२ हजार ९ सय ५२ ऋणी छन् । यसमा आवद्ध ५२ हजार ९ सय ५२ को बचत परिचालन अर्ब ४७ करोड ६५ लाख ५७ रुपैयाँ हजार रहेको छ ।
संस्थाको ५ अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ । एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत् सेवा दिनेछ । संयुक्त कारोबारको शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले नेपालको लघुवित्त वित्तीय संस्थाको सङ्ख्या ६८ रहेकामा अझै बढ्ने भएकाले नेपालजस्तो मुलुकमा कति बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताए ।
संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले नेपालमा लघुवित्त संस्थासामु ठूलो चुनौती रहेको उल्लेख गर्दै केही नीतिगत समस्या भएकाले त्यसलाई हटाउन वित्तीयविज्ञद्वारा पहल भइरहेको बताए। देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले एकीकृत कारोबारपछि वित्तीय संस्थालाई सबल र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए।
सो अवसरमा बनेपा–१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, संस्थाका नायब कार्यकारी अधिकृत किरण काफ्ले, विभागीय प्रमुख विमल खनाल, देउराली लघुवित्त संस्थाका सञ्चालक समिति सदस्य दामोदर रेग्मीलगायतले कारोबार सफलताको शुभकामना दिएका थिए । संस्थामा देउराली लघुवित्तका अध्यक्ष ज्ञवालीलाई सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीलाई कम्पनी सचिवमा नियुक्त गरिएको छ ।


