images
images

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला


  • 558
    SHARES
  • २०८१ फाल्गुण २६ गते सोमबार

    सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला
    बागलुङ । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरु अहिले आर्थिक रूपमा सवल बनेका छन् । 
     
    जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् ।
     
    स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताइन । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उहाँको भनाइ छ ।
     
    तालिमले यहाँका महिलालाई व्यवसायिक बनाएको पुनको भनाई छ। जङ्गलमा जति पनि पाइने बाँको र बारीनै ढाक्ने, सिस्नो पहिले त्यतिकै खेर गएका थिए । अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि राम्रो आम्दानीको स्रोत भएको पुनले बताइन् । उनका अनुुसार, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ भने गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।
     
    आफूहरुले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन पोखरा, काठमाडौंदेखि जापान, हङकङसम्म पुग्ने गरेको पुुनको भनाइ छ । गत वर्ष चार लाखको सिस्नोको पाउडर, दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेका महिलाले यसवर्ष दोव्वरबढीको बिक्री गर्ने योजना अघि सारेका छन् । 
     
    जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताए । महिलाले सुरुमा करिब २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए ।
     
    पछिल्लो समय देश विदेशबाट उनीहरुको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएको भुुजेलले बताए । 


    images

    Logo