काठमाडौं । नेपालमा धान रोपाइँ ७२ दशमलव १४ प्रतिशत सकिएको छ । धान रोपाइँ हुने १३ लाख ८३ हजार ७ सय ३२ हेक्टर जमिनमध्ये आजसम्म ९ लाख ९८ हजार २ सय २८ हेक्टरमा मात्रै धान रोपाइँ सकिएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो अघिल्लो वर्षको यही अवधिको तुलनामा झन्डै साढे १२ प्रतिशतले कम हो । अघिल्लो वर्ष साउनको ६ गतेसम्ममा ८४ दशमलव ६ प्रतिशत रोपाइँ सकिएको थियो ।
सबैभन्दा कम रोपाइँ धानको राजधानी मानिने मधेश प्रदेशमा भएको छ । आजसम्ममा मधेशमा ४६ दशमलव ८३ प्रतिशत मात्रै रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा मधेशमा ८० दशमलव ६ प्रतिशत रोपाइँ सकिएको थियो । कोशी प्रदेशमा पनि अघिल्लो वर्ष यति बेला ८२ दशमलव ७ प्रतिशत रोपाइँ सकिएकोमा यस वर्ष भर्खर ६१ दशमलव ७९ प्रतिशत भएको छ ।
नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । हिजोदेखि पर्न थालेको पानीले रोपाइँ हुने आशा बढेको छ । तर मधेशमा अझै पनि पर्याप्त वर्षा हुने कुरामा मौसमविद्हरू शङ्का गर्छन् ।


