काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा घरजग्गा कारोबार एक चौथाइभन्दा धेरैले घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन महिनामा घरजग्गा कारोबार २७.८६ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल ४३ हजार ८३५ वटा लिखतपारित भएको थियो । उक्त संख्यामा यसपटक २७.८६ प्रतिशतले गिरावट आएर ३१ हजार ६२१ मा सिमित भएको छ ।
घरजग्गा कारोबारसँगै राजस्व संकलनमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको साउन महिनामा घरजग्गाको कारोबारबापत ३ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । उक्त रकम यसपटक १४.२३ प्रतिशतले घटेर ३ अर्ब २८ करोड रुपैयाँमा सिमित भएको छ ।
साउन महिनामा सबैभन्दा धेरै लिखतपारित भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट भएको छ । उक्त कार्यालयबाट एकै महिनामा १७ सय लिखतपारित भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, जनकपुरधाम, बेलवारी र राजविराजबाट पनि एक हजार भन्दा धेरैको संख्यामा लिखतपारित भएका छन् ।


