images
images

नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त


  • 535
    SHARES
  • २०७८ मंसिर २८ गते मंगलबार

    नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त

    काठमाडौं । नेपाल टेलिकमले चर्चित हास्क कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) कम्पनीको ब्राण्ड एम्बेस्डरमा  नियुक्त गरेको छ । टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे । 

    कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेका थिए ।  

    सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे ।  

    कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको “ब्राण्ड एम्बेसडर” हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताएका थिए ।  

    यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नुहुनेछ । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

    मुलुकको कलाकारिता क्षेत्रमा विशिष्ठ पहिचान भएका “ब्राण्ड एम्बेसडर”द्वयको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सम्भव हुने टेलिकमले अपेक्षा गरेको छ । 


    images

    Logo