विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्बन्ध विकासलाई दृष्टिगत गरी मानव संसाधन तथा औद्योगिक सम्बन्ध विकासका सन्दर्भमा २०७८ मंसिर २९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणालीबीचको अन्तरसम्बन्धलाई सृदुढ बनाउने महत्वपूर्ण पक्षका रुपमा रहेका मानव संसाधन र असल औद्योगिक सम्वन्ध विकासमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको वताए ।
उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूर्ण अभ्यासको माध्यमबाट विवाद न्यूनीकरणका उपायहरु अवलम्बन गरी औद्योगिक शान्ति कायम राख्न सके सबै पक्षको हित भइ उद्योगको उत्पादकत्व अभिवृद्धिमा समेत सहयोग पुग्ने विचार कार्यक्रममा व्यक्त गरे ।
कार्यक्रममा वक्ता एवं असल औद्योगिक श्रम सम्बन्ध विकासका विज्ञ अवधेश कुमार झाले कार्यस्थलमा व्यवस्थापन र श्रमिकबीचको सम्बन्धलाई विश्लेषण गर्दै असल औद्योगिक सम्बन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने विषयका बारेमा स्पष्ट पारे ।
कार्यपत्र प्रस्तुतिका क्रममा विज्ञ झाले स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन र आचरण, कानुनी प्रावधानका सम्बन्धमा कम्पनीले आफना कामदारहरुलाई स्पष्ट रुपमा पूर्व जानकारी दिनुपर्ने औल्याउँदै असल श्रम अभ्यासले विवादरहित कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षबीचको सुमधुर सम्बन्ध विकासमा सहयोग पुर्याउने बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य तारानाथ निरौला, सौरभ शारडाका साथै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानका उद्योगी, उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।


