काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ९ लाख २ हजार ७६८ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । शेयरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ्ग प्रणालीअनुसार प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ अनुसार बोलकबोल प्रणालीमार्फत आवेदन दिएका योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो ।
सो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् । यस्तो निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


